के नेपालमा पनि जर्मन र भारतकै इतिहास दोहोरिन लागेको हो ?ʼ–डा.बावुराम भट्टराई

विचार समाचार

केपी ओली नेतृत्वको सरकारले विप्लव माओवादी पार्टीमाथि प्रतिवन्ध लगाएको छ । गृहमन्त्री रामवहादुर थापा बादलले पनि उक्त पार्टीसँग राजनीतिक व्यवहार नगरिने बताइसकेका छन् । यसले जनमानसमा त्रास र चासो दुवै सिर्जना गरेको छ । संयोग यो छ कि, प्रतिवन्ध लगाउने दलीय सरकार र प्रतिवन्धित दल दुवै कम्युनिष्ट हुन् र नाम पनि एउटै(नेकपा) रहेको छ । अब प्रश्न उठ्नु स्वभाविक हुन्छ, के कम्युनिष्ट–कम्युनिष्टबीच यो रुपमा देखिएको लडाई नेपालमा मात्रै हो या इतिहासमा कतै घटे ? यसबारे पुर्वप्रधामन्त्री डा.बावुराम भट्टराईले आफ्नो फेसबुक पेजमा स्टाटस राखेका छन् । उनी लेख्छन् –

‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ!

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!

आखिर त्यसको परिणाम के भयो ? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो!

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’