प्रधानमन्त्री ओलीमाथिका ५ शंकाहरु !

विचार समाचार

एकराज रुम्दाली

प्रधानमन्त्रीको ‘प्रतिवन्धʼ र कृष्णसेन ‘इच्छुकʼको ‘प्रतिवन्धʼ :
केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएसँगै अनेक कुरा उठेका छन् । प्रधानमन्त्री ओलीको यो कदमलाई केहीले समर्थन त धेरैले विरोध गरिरहेका छन् । सामान्य नागरिकदेखि पार्टीका कार्यकर्ता, नेता, बुद्धिजिवीलगायतले यहिँ विषयमा टिप्पणी गरिरहेको सुनिन्छ । शान्ति कि युद्ध निम्तिन्छ ? सवैमा चासो र त्रास पनि बढ्दो छ । यद्यपि नेकपामाथिको ‘प्रतिवन्धʼ, सरकार–विखण्डनकारी राउतबीच सहमतिको नाटक भएलगत्तै देखाइएको अर्को नाटक नै हो । तर प्र.म ओलीले हेक्का राख्नै पर्थ्यो, देशमा सरकारको किन विरोध हुन्छ ? किन विद्रोह र क्रान्तिका आवाज सुनिन्छन् ? स्व.कृष्णसेन ‘इच्छुकʼका ‘प्रतिवन्धʼ कविता प्रधामन्त्री ओलीले पढ्नैपर्ने हुन्छ ।

‘प्रतिवन्धʼ
हाम्रा स्वरहरुमा प्रतिवन्ध लगाउँदै
हाम्रा ओठहरुमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ–गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौ
हाम्रा विचारहरुमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरुमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ–लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौ
हाम्रा आस्थाहरुमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरुमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिड
हामी भने त्यही बाटो हिडिरहन्छौ
ओ शासकरप्रशासकहरु !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरु
तिमी जतिसुकै हुकुम र फरमानहरु जारी गर
तिमी जतिसुकै जुलुम र उत्पिडनहरु सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरुमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरु !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ ।
उठाइरहन्छौ हामी तिम्राविरुद्ध संघर्षको हातहरु
कसिरहन्छौ हामी तिम्राविरुद्ध विद्रोहका मुट्ठीहरु
ओ अत्याचारका पहरेदारहरु !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथी विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौ ।

पृष्ठभूमिमा ११ बुँदे ल्याप्चे :
प्रारम्भमा विखण्डनकारी सिके राउत अदालतको आदेशले अचानक छुट्छन् । लगत्तै ओलीले राउतलाई झ्याप्पै समाती वैज्ञानिक बनाउँछन् । र, ११ बुँदे सहमतिमा गृहमन्त्री बादललाई ल्याप्चे ठोकाउँदै प्र.म ओलीले प्रचण्ड र राउतलाई तुलना गर्न पनि भ्याइहाल्छन् । कसैलाई थाहै नदिई प्र.म ओलीले यी सवै हर्कत साटाक–सुटुक सिध्याउँछन् । यस्तो गतिविधिले सत्तापक्ष (नेकपा) भित्र आलोचना र असन्तुष्टि उत्कर्षमा पुग्छ । भने प्रतिपक्ष कांगेसले पनि सरकारको विरोध र आलोचना सुरु गर्छ ।

सिके राउत मधेस छिरेपछि :
यसैबीच, सिके राउत सुटुक्क मधेस पस्छन् । काठमाण्डौमा ल्याप्चेको मसि आलै छाडेर मधेस पसेका राउत ल्याप्चेकै बुँदा कुल्चदैँ उहिँ विखण्डनकारी समर्थकका विखण्डनकारी झण्डा, फेटा र नारामा रमाउँछन् । प्रहरी प्रशासन राउतका मास्कधारी मुस्दण्डेहरुका अगाडि चुपचाप हुन्छन् । अनि ति एक हुल, देश विखण्डनका नारा लगाउँदै चिच्याउँछन् । हिजो यसो गर्दा जेल पुग्ने सिके राउत माला र अविरसँगै निर्वाध रुपमा विखण्डनकारी झण्डा उचाल्न सफल हुन्छन् । उक्त दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति देखिन्छन् ।

आलोचनासँगै विरोध :
राजनीतिक बजारमा भने ११ बुँदे खेस्रासँगै राउतले मधेसमा विखण्डनकारी गतिविधि गर्न भारी छुट पाएको चर्चा हुन्छ । सँगै सत्तापक्ष (नेकपा) भित्र सकार–राउतबीचको सहमतिलाई लिएर झनै आलोचना र विवाद चर्किन्छन् । र, प्रतिपक्ष(कांग्रेस)भित्र पनि विरोध र आलोचना निरन्तर हुन्छन् ।

समस्या सार्ने प्रधानमन्त्रीको जुक्ति :
यहिँ आलोचना, विवाद र विरोधलाई टार्न प्र.म ओलीले एउटा जुक्ति निकाल्छन् । त्यो जुक्ति हुन्छ, विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाइएको घोषणा मन्त्रिपरिषदबाट पास गराउने । अन्तत ः त्यस्तै नै हुन्छ, गृहमन्त्री बादलले विप्लव माओवादीसँग राजनीतिक व्यवहार नगरिने बताइहाल्छन् । प्रहरी प्रवक्ताले पनि ‘विप्लव नेतृत्वका नेता–कार्यकर्ता जहाँ भेटिन्छ त्यहाँ गिरफ्तार गरिन्छʼ भनेपछि प्र.म ओली ढुक्क हुन्छन् । यसरी राउतसँगको सहमतिले सिर्जना गरेका सार्वजनिक विरोध र आलोचनालाई ओलीले विप्लव माओवादी माथिको ‘प्रतिवन्धʼ प्रकरणमा सार्छन् ।

वरिष्ठ कवि तथा गीतकार भूपाल राईको विश्लेषण :
यस्तै गतिविधिका कारण वरिष्ठ कवि तथा गीतकार भूपाल राईले एक वैज्ञानिक विश्लेषण गरेका छन् । राईले शासकहरुबारे तीन विश्लेषण आफ्नो फेसबुक वालमा राखेका हुन् । उनका अनसार– ‘शासक खराब भयो भने दृश्यमा सामान्यतया तीन कर्तुत गोचर हुन्छन् । पहिलो ः बढी भन्दा बढी अमुर्त कुरा गर्छन्(जसबाट जनतालाई अल्मल्याइ राख्न सकियोस्) । जस्तो कि ‘समृद्धीʼ । दोश्रो, सस्तो(झिनो मसिनो) लोकप्रियताको हथकण्डा मच्चाउँछन् (जसबाट शासक आफैलाई आत्मरञ्जनाको अनुभूति होस्) । जस्तो कि ‘दोहोरी गीत र सिके राउतʼ । तेश्रो, राजनैतिक निषेधको फरमान चलाउँछन् (जसबाट आफ्नो चक्रीय शासनलाई सुरक्षित राख्न सकियोस्) । जस्तो कि ‘विप्लव, रेशमʼ प्रकरण ।ʼ

विप्लव नेतृत्वको नेकपा टिप्पणी :
विप्लव नेतृत्वको‘नेकपाʼ मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० बाट विभाजन भई स्थापना भएको दल हो । तत्कालिन एकीकृत नेकपा माओवादीबाट पार्टी फुटाउँदा वैद्य नेतृत्वमा विप्लपनि थिए । तर प्रकारान्तरमा वैद्य–विप्लवको अन्तरद्धन्दले विभाजनको स्थिती आइपर्यो । अन्तत ः विप्लवले आफनै नेतृत्वमा नेकपाको स्थापना गरीे एकीकृत जनक्रान्तिको मुद्धा अघि सारे । चार वर्ष भयो विप्लप माओवादी गठन भएको ।
शान्तिप्रकृयाबाट आरम्भ भएको प्रचण्डको राष्ट्रिय राजनैतिक गतिविधिमा कमजोरी र गल्ती भए भनी पार्टीभित्र वैद्य र विप्लवहरुले नै बढी विरोध र आलोचना गर्थे । झनै विभाजनपछि त नहुने कुरै रहेन । विप्लव नेतृत्वको माओवादीले गएको स्थानीय निकायको निर्वाचनमा कतै बम पड्काए त कतै चुनाव विथोल्न लागिपरे । कसैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दले । एनसेलको कर चुक्ता प्रकरणमा विभिन्न ठाउँका टावरहरुमा आगजनी गरे । भर्खरै ललितपुरको एनसेल अफिसमा बम पड्काउँदा एक जनाको मृत्यु समेत भयो । कतै युद्ध नै गर्ने भनी खबरहरुपनि सार्वजनिक गरिए । धेरैको विश्लेषणले विप्लव युद्ध गर्ने मनशायमा छैनन् र त्यो सामथ्र्य बनेको छैन भन्ने नै देखाउँछ । यद्यपि, अचानक प्रधानमन्त्री ओलीले विप्लव नेकपामाथि प्रतिवन्धको घोषणा गर्नुले कतै वाध्य तुल्याउने त होइन भन्ने आशंका पनि छ । र, नेकपाका नेताहरुले पनि सरकारले हतियार उठाउन वाध्य बनाए हातमा दही जमाएर नबस्ने स्पष्ट संकेत मिडियामार्फत दिइसकेकै छन् ।

प्रधानमन्त्री ओलीमाथिका ५ शंकाहरु :

शंका नं. १ : प्रतिनिधिसभाको एक वैठकमा कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीमा ‘ब्रह्म मै हुँ भन्ने घमण्डʼ रहेको औल्याएका थिए । यस्सो विगत र वर्तमानका गतिविधि नियाल्ने हो भने यो टिप्पणी स्वत :सिद्ध हुन्छ । नेकपा माओवादी(केन्द्र) र एमालेबीचको पार्टी एकतासँगै प्रधानमन्त्रीमा विराजमान भएदेखि ओली दम्भै–दम्भले चलेका छन् । जुन, उनका बोली र व्यवहारमा देखिएकै हुन् । प्राप्त शक्तिको हिसाबले स्वभाविक पनि होला । तर जनताको शान्ति, समृद्धि र विकासप्रतिको चाहनाअनुसार ति अस्वभाविक र फर्जी हुन् । अनावश्यक सपना देखाउने, उखान–टुक्का मिलाएर सभामा ठट्टा गर्ने, हाँसो गुन्जाउने र आफु खुसी निर्णय गर्ने कुरा लोकतान्त्रिक चरित्र हुनै सक्दैन । नेकपामाथिको ‘प्रतिवन्धʼको घोषणापनि आत्मरतिको पराकाष्ठा नै हो । यो कुनै निरंकुश तानाशाही प्रवृत्तिको मनोवैज्ञानिक असरको परिणती हुनसक्छ । ओलीमा राज्य मनै हुँ भन्ने तानाशाही संकेत हो यो ।

शंका नं. २ : ओलीले जनयुद्ध कहिल्यै स्विकारेनन् । त्यसैले शब्दैपनि सुन्न मन पराउँदैनन् । अहिले पनि उनी जनयुद्ध शब्द सुन्न नपरेपनि हुन्थ्यो भन्ने चाहन्छन् । तर तिनै जनयुद्धका कमाण्डरसँग भने उनको दोस्ती जमेको छ । दोस्तीमा किन फाँटो ल्याउनु भनेर मात्रै उनले यसो चिम्म गरेका हुन् । तर, प्रचण्डसमेतको उपस्थिति रहेको विखण्डनकारी सिके राउत–सरकारबीचको सहमतिसभामा ओलीले खुब स्वाद मारेका छन् । भाषणमा प्रधानमन्त्री ओलीले प्रचण्डको तु्लना सिके राउतसँग गरे । त्यसरी तुलना गर्नुको खास अर्थ नै अप्रत्यक्ष रुपमा प्रचण्ड–सरकारबीचको शान्ति प्रकृया, विस्तृत शान्ति–सम्झौतालगायतलाई अपमान गर्नु हो ।

शंका नं. ३ : पार्टी एकतापछि ओलीले आफुलाई प्रचण्डभन्दा अब्बल सावित गराउन तम्सिरहे । निर्वाचनको गणितिय नतिजाले पनि एकतापछि ओली नै केहीमाथि परे । यसले प्रधानमन्त्रीको दावेदार स्वभाविक रुपमा उनी नै हुने भए । प्रधानमन्त्री भएपछि त उनले कत्ति ठट्टा गरे, कति उखान–टुक्काले लोक हसाए । तर अहिले परिस्थिति निकै गम्भिर बनेको छ । यो प्र.म ओली राजको प्रयोग पनि हुनसक्छ । ओलीले प्रचण्डलाई १० वर्षे जनयुद्धको नेतृत्व गरेकामा गल्ती र पश्चाताप महसुस गराउँन चाहन्छन् । तसर्थ नै सिके राउतसँग सहमति गरेर ओलीले जनयुद्धको विरोध र अपमान गर्न खोजेका हुन् । विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धको नाममा उत्तेजित बनाएर हिजोका माओवादी नेता–कार्यकर्ताबीच द्धन्द गराउन चाहन्छन् ओली ।

शंका नं. ४ : विगतमा एमालेलाई नाममात्रैको कम्युनिष्ट भनी आरोप लगाइरहने प्रचण्डलाई प्रधानमन्त्री ओलीले खुइल्याउन चाहान्छन् । प्रथमत : प्रचण्डका जनयुद्धकालिन नेता, कार्यकर्ताका नजरबाट अलग गर्ने, र विस्तारै उनको भूमिकालाई गौण बनाई आफुअनुकुलको पार्टी र सरकारको नेतृत्व गर्न चाहान्छन् ओली ।

शंका नं. ५ : प्रधानमन्त्रीमा शान्ति, समृद्धि, विकास सवैको जस लिने महत्वकांक्षा तिव्र छ । तर भ्रस्टाचार सुन्य बनाउने अभियानले हावा खाएको छ । समाजमा अपराध बढेका बढ्यै छन् । रोजगारको ग्यारेन्टी दिन पनि भ्याएकै छ । विकास निर्माणका सपना छरेकै छ । जहाँ पुग्यो, गर्छु भनेकै छ । आफुखुसी जे पनि गरेकै छ । यसले ओली नेतृत्वको सरकार स्वत ः दुइतिहाईको दम्भ, अहंकार र घमण्डको मातले उच्च महत्वकांक्षाको शिकार भएको देखिन्छ । यसरी राज्य सञ्चालनमा केटाकेटी रहर र भ्रम मौलाइरहेको छ ।