नेपालकै सर्वाधिक ठुलो राशीको उपाधि निश्चल निशानी निर्माण सेवाको हातमा

समाचार

सन्देशबाहक/काठमाडौं- फ्रेण्डसीप यूथ क्लब सोलुखुम्बुको आठौँ बार्षिक उत्सब तथा फ्रेण्डसीप अवार्ड २०७५ को अवसरमा आयोजना गरिएको जिल्लाभित्रका स्थानीय तह स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा निश्चल निशानी निर्माण सेवाले उपाधि हात पारेको छ ।

विहिबार भएको फाईनल खेलमा नेचासल्यान गाउँपालिकालाई ३–२ को सेटल हराउदै निर्माण सेवा सोताङले उपाधिमाथी कब्जा जमाएको हो । माप्य दुधकोशी गाउँपालिकालाई पराजित गर्दै थुलुङ दुधकोशी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ । खेलमा उत्कृष्ट खेलाडी सोताङ गाउँपालिकाका एकराज बस्नेत, स्पाइकर र सेटरमा नेचासल्यान गाउँपालिकाका निर्मल निरौला र अर्जुन राई, ब्लकरमा सोताङ गाउँपालिकाका विजय रानामगर, डिफेन्डर र सर्भरमा थुलुङदूधकोशी गाउँपालिकाका क्रमशः बसन्त राई र दिनेश केसी चयन भएको रेफ्री चेतबहादुर मगरले जानकारी दिनुभयो ।

फ्रेण्डसीप युथ क्लबको आठौ बार्षिक उत्सबको अबसरमा जारी प्रतियोगीताका शिर्ष तिन स्थान ओगट्ने समूहले शिल्ड, मेडल र प्रमाण-पत्रको साथमा ३ लाख ३३ हजार ३३३ रुपैयाँ, २ लाख २२ हजार २२२ रुपैयाँ र एक लाख ११ हजार १११ रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको थियो । जिल्लास्तरमा आयोजना हुने प्रतियोगीता मध्येकै सर्वाधिक राशीको भलिबल प्रतियोगीता रहेको आयोजकले दाबी गरेको छ ।