लुक्ला विमान दुर्घटनाको स्थलगत अध्ययन टोली फर्कियो काठमाण्डौ

देश समाचार

सन्देशबाहक, काठमाडौं : तेन्जीङ हिलारी विमास्थल लुक्लामा ३ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको छानविन समितिले बुधबार स्थलगत अध्ययन गरेको छ । टोलिले बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्यान प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए ।

नयाँ बर्षको दिन बिहान ९ः२० मा समिट एयरको बिमान मनाङ एयरको हेलिकप्टरसंग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भोलि पल्ट २ गते संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरणले नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा ३ सदसिय छानबिन समिती गठन गरेको हो ।

नयाँ वर्षको पहिलो दिन लुक्लाबाट रामेछापको मन्थलि पर्यटक लिनको लागि उडेको बिमान धावन मार्गमा चिप्लिएर दुर्घटना भएको पारम्भिक अनुमान गरिएपनि टोलिले बुझाएको प्रतिवेदन पछि तथ्य बाहीर आउने अपेक्षा गरिएको छ । प्रत्यक्ष दर्शिका अनुसार टेकअफको समयमा उक्त बिमान केही सय मिटर पर पुगी बिमानस्थलको दाँया तर्फ मोडिएर हेलिकोप्टरसंग ठोक्किएर आगो लागेको थियो । छानबिन समिती बुधवार नै काठमाण्डौ फर्किसकेको छ ।

दुर्घटनामा बिमानका सहचालक सुजित ढुंगना, सुरक्षामा खटिएका प्रहरी सहायक निरिक्षक द्धय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । खड्का र ढुंगनाको घटना स्थलमै मृत्यु भएको थियो भने श्रेष्ठको काठमान्डौ उपचारमा लैजाने क्रममा मृत्यु भएको हो ।