माप्य दुधकोशी गाउँपालिकाले ल्यायो नयाँ आर्थिक बजेट : कृषिलाई मुख्य प्राथमिकता

प्रदेश फोटो फिचर राजनीति समाचार

सन्देशबाहक, काठमाडौं: सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नयाँ बजेट विनियोजनमा कृषिलाई मुख्य प्राथमिकता राखेको छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईकाअनुसार केन्द्रीय सरकारको वित्तीय समानीकरण वापत १० करोड १० लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ६९ लाख ८४ हजार, प्रदेशको सवारी साधन कर वापत २२ लाख ८४ हजार, केन्द्र सरकारको राजस्व बाँडफाँड रकम वापत ५ करोड ६३ लाख, पर्यटन रोयल्टीवापत ४४ लाख ८९ हजार ३४९ रुपैयाँ, आन्तरिक राजस्व संकलनको १० लाख र सशर्त अनुदान रकम १० करोड ५३ लाख गरी जम्मा २७ करोड ७३ लाख ३७ हजार ३४९ रुपैयाँको नयाँ आर्थिक बजेट गाउँसभाले पारित गरेको छ । जसमध्ये नयाँ आर्थिक वर्ष २०७६ र ०७७ का लागि १ करोड ३४ लाख ४१ हजार रुपैयाँ कृषिका लागि बजेट विनियोजन गरिएको छ ।

यस वर्ष भने कृषिका लागि नमुना वर्षको रुपमा घोषणा गरिनुका साथै कृषिअन्तर्गत सुन्तला खेती, अकबरे खुर्सानी, कागती, कफी, कन्य च्याउ, किवी, चिया, अदुवा र बेसार, अलैंची तथा केरा खेती र मौरी घारसहित वितरण लगायतलाई विशेष प्राथमिकतामा राखिएको र आ.व.२०७५\०७६ मा गरिएको बजेट विनियोजनमा कृषिसँग सम्बन्धित प्रविधि प्रयोग गर्नका लागि प्रत्येक वडालाई २ र ३ वटाको दरले कोदो र गहँु चुट्ने मेसिन वितरण गरिने समेत अध्यक्ष राईले बताउनुभयो ।

यसैक्रममा पशुपालनका लागि सामुहिक बधशाला निर्माण गर्ने साथै पशुपालनअन्तर्गत माछा, बाख्रा, बंगुर, गाई पालन र खोर सुधार त्यस्तै गरी नयाँ स्वादका लागि कालिज पालनलाई जोड दिईएको छ । त्यसैगरी कृषिजन्य वस्तुको संकलन केन्द्र स्थापना गर्ने र त्यसलाई बजारीकरणका लागि बजार व्यवस्थापन गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरिएको छ भने खानेपानीको लागि पनि बजेटको व्यवस्था गरिएको छ । खानेपानीका लागि वाकुको ठाने खोलामा खानेपानीको डिपीआर भइसकेकोले यस वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै राप्छाको योतेल्म्य खानेपानीका लागि पनि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

आ.व. २०७६/ ०७७ मा मोटरेबल पुललाई विशेष प्राथमिकताः
माप्य दुधकोशी गाउँपालिकाको विभिन्न वडालाई जोड्ने मोटरेबल पुल निर्माणका लागि पनि विशेष जोड राखेर नयाँ आर्थिक बजेट विनियोजन गरिएको छ । आ.व. २०७६/०७७ मा गाउँपालिकाबाट ओर्लाङघाटमा निर्माधिन मोटरेबल पुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने वडा नं. १ र २ को बीचको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकालाई जोड्ने पुलाई विशेष प्राथमिकतामा रहेको छ ।

उक्त पुलका लागि ८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको छ भने  सो पुल निर्माणका लागि संघीय सांसदकोषबाट ९० लाख, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०/५० %  बजेटको व्यवस्था गर्ने सम्झौता गरिएको छ । ५० टन क्षमता र ४८ मिटर लामो  सो पुलको नामाङ्करण भने माप्य खुम्बु मितेरी पुल राखिएको छ । उक्त पुलको उद्घाटन आगामी चैत्र महिनाभित्रै गरिने अध्यक्ष राईको दाबी छ ।

यसैक्रममा माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ र ७ लाई जोड्ने कायखेत मोटरेबलको लागि पनि नयाँ आर्थिक वर्ष २०७६/०७७ को बजेटमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने उक्त पुलको टेण्डर आउँदो साउन महिनामा गरिने र निर्माण कार्य थालनी भएको एक वर्षभित्रै पुल निर्माण कार्य सम्पन्न हुने गरी तीव्रताका साथ योजना अघि बढाईने छ । त्यस्तै लामबगरका लागि पनि मोटरेबल पुलको बजेट व्यवस्था गरिएको छ ।

विभिन्न जातिको साँस्कृतिक संरक्षण र विकासमा जोडः
माप्य दुधकोशी गाउँपालिकाभित्र बसोबास गर्ने सबैखाले जातजाति र समुदायहरुको उत्थानका निमित्त संस्कार, संस्कृती, भाषा विकास तथा प्रवद्र्धनका लागि पनि बजेटको व्यवस्था गरिएको छ । जसमा भुजेलहरुको सँस्कृति संरक्षणका लागि ७ लाख, मगरहरुको भाषा र संस्कृति संरक्षणका लागि ५ लाख, खालिङहरुको मुन्दुम लेखनका लागि १० लाख र वास बृत्तचित्र निर्माणका लागि १२ लाख गरी जम्मा २२ लाख बजेट विनियोजन गरिएको छ भने दलित तथा अन्य समुदायको लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

पर्यटन प्रवद्र्धन र विकासका लागि बजेटः
माप्य दुधकोशी गाउँपालिकाभित्रको पर्यटकीय सम्भावनाहरुको उजागर गर्नका निमित्त नयाँ आर्थिक वर्ष २०७५÷०७६ बाट बजेटको व्यवस्था गरिएको छ । सम्भावित विभिन्न पर्यटकीय स्थलहरुमध्ये धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि वडा नं. ३ मा अवस्थित महादेव मन्दिरको संरक्षण तथा जिर्णोद्धार गरिने छ भने जलेश्वरी र घुम्ने मेराको गुम्बालगायतका पर्यटकीय गन्तव्यहरुलाई विकास र प्रवद्र्धन गर्दै जाने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै जुभिङमा साँस्कृतिक संग्रहालय निर्माणका लागि डिपीआर भएको छ । खुम्बुसँग सहकार्य गरेर यसलाई माप्य–खुम्बु साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसकै माध्यमबाट खुम्बु पुग्ने पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा आकर्षित गर्न टेवा पुग्नेछ भने जुभिङको प्याराग्रीन, काँकुको सन्तले भीर, खास्तापको क्याम्की भीरमा रक क्लाईम्बिङ र सुन्दर झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको वडा नं. २ स्थित राप्छामा निर्माण गरिने सबैभन्दा अग्लो चिण्डो प्रतिमाको अहिलेसम्म डिपीआर फाईनल भएको र यस वर्ष ५ लाख मात्र विनियोजन गरिएको भएपनि आउँदो आ.व. मार्फत निर्माण कार्यको लागि पूरा बजेट विनियोजन गरिने अध्यक्ष राईले बताए ।

सडक स्तरोन्नति र कालोपत्रेमा जोडः
गाउँपालिकाभित्रको सडक सञ्जालमा पनि आवश्यकताअनुसार बजेट विनियोजन गरिएको छ । यो बजेटले सडकको स्तरउन्नति र कालोपत्रेलाई मुख्य प्राथमिकतामा राखेको छ जसमा सल्लेरी–काँकु–बासा हुँदै जुभिङ जोड्ने उक्त सडकलाई कालोपत्रेका लागि संघीय सरकारबाट १० करोड विनियोजन भएको छ । ४५ किलोमिटर दूरी रहेको उक्त सडक आगामी दुई वर्षभित्र कालोपत्रे सक्ने लक्ष्य रहेको छ ।

उक्त सडकको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित १ करोड २५ लाखको टेण्डर भएर काम अघि बढाइएको छ भने विनियोजित बजेटले सेर्गाखोपदेखि मुलखर्कसम्म ८ मिटर चौडा बनाउने काम हुने र प्रदेश सरकारबाटै प्राप्त १ करोड ५० लाख रुपैयाँ बजेटमार्फत मुलखर्क ओरालोको सडक स्तरोन्नतिका लागि काम अघि बढाइएको छ । माप्य दुधकोशी गाउँपालिकाबाट विनियोजित ५० लाखले साविक काँकु गाविसको सरिमामा (रोकम)मा भएको टर्निङहरुको स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ ।

माप्य दुधकोशी गाउँपालिका र थुलुङ दुधकोशीसँग जोडिएको आम्रासबाट काँकुको सेतीहालको रोड धकम्यलुङमा जोड्ने काम सकिएको छ । उक्त सडकका लागि संघ, प्रदेश र गाउँपालिका गरी जम्मा ७३ लाख बजेट विनियोजन भइसकेको छ । त्यस्तै अन्य सडक सञ्जालका लागि पनि आवश्यकताअनुसार बजेटको व्यवस्था गरिएको जानकारी अध्यक्ष राईले सन्देशबाहलाई जानकारी दिनुभयो ।

एकीकृत बस्तीका लागि  बजेटः
माप्य दुधकोशी गाउँपालिकाभित्र एकीकृत वस्ती विकासका लागि पनि बजेट व्यवस्था गरिएको छ । वडा नं.६ पहिरोको जोखिम क्षेत्र भएकोले यसलाई एकीकृत बस्तीको रुपमा विस्तार गर्न प्रारम्भिक रुपमा १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने वडा नम्बर १ मा पनि एकीकृत बस्ती निर्माणकै लागि प्रदेश सरकारलाई अनुरोध गरिने गाउँपालिकाले जानकारी गरेको छ ।

शैक्षिक स्तरउन्नतिका लागि नयाँ कार्यक्रमः
गाउँपालिकाले शिक्षा क्षेत्रका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको छ । नयाँ बजेटमार्फत यस वर्षभित्र ५ वटै वडामा रहेको माध्यमिक विद्यालयमा ईएटेन्डेन्स र आगामी वर्षमा क्रमशः १–८ सञ्चालन गरिरहेको आधारभूत विद्यालयहरुमा ईएटेन्डेन्समा लागु गर्दै जाने योजना रेहेको बताएका अध्यक्ष राईले आउँदो माघभित्र अनौपचारिक शिक्षा वा साक्षरता कार्यक्रम गरेर गाउँपालिकामा निरक्षरता उन्मुलन गर्ने कार्ययोजना समेत गाउँपालिकासँग रहेकोे बताएका छन् ।
जसका लागि गाउँपालिकाको नेटवर्क तथा इन्टरनेट विस्तार गर्न रेडियो लिंकको लागि बजेट विनियोजन गरिएको छ भने तेकक्वान्दो खेल तालिम सञ्चालन गर्ने, गाउँपालिकाको रंगशाला निर्माण कार्यलाई निरन्तरता दिने तथा खालीमाविको फुटबल ग्राउण्डलाई  व्यवस्थित गर्न समेत यसवर्ष बजेट विनियोजन गरिएको छ ।

बजेटबारे गलत प्रचार–प्रसारः
राजधानी काठमाडौंमा भेटिएका गाउँपालिका अध्यक्ष राईसँग छोटो कुराकानी गरिएसँगै नयाँ आ.व. को बजेटबारे यसो भन्नुहुन्छ : केही वडाहरुबाट असन्तुष्टि व्यक्त भइरहेका छन् । विकास गर्ने क्रममा सबै ठाउँमा सबै खालको सहमति हुन नसक्दो रहेछ । कार्यक्रमको प्राथमिकता र ठूला साना योजना सबैलाई मिलाएर सबै वडाहरुलाई न्याय दिनेगरी नै बजेट विनियोजन गरिएको अध्यक्ष राईको दाबी छ भने विकास गर्न देखिनसक्नेहरुले भने यसलाई गलत रुपमा ब्याख्या गरिरहेको समेत बताउनुभयो ।
केही वडाहरुको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो ः वडा नम्बर ७ मा बजेट कम भयो भनेर वडा अध्यक्षले गुनासो गर्नुभएको छ जबकी सबै ठूलो सानो योजना गरी १ करोड २० लाख भन्दा बढिको बजेट त्यहाँ विनियोजन भएको छ । एकमुष्ट नभएर वडा नम्बर ७ लाई नै जोड्ने कायखेतको पुलमा पनि ठुलै बजेट विनियोजन भएको छ । यस्तै बजेट विनियोजन गर्दा त्यस्ता सबै खाले योजनाहरुलाई हिसाब गरेर सबै वडाहरुलाई सन्तुलित बजेट छुटाइएको हो । हिसाब गरेर हेर्ने हो भने पनि सबै वडाहरुमा उस्ताउस्तै बजेट रहेको छ । यसर्थ विनियोजित बजेटको सबै पक्षलाई गम्भिर रुपमा अध्ययन गर्न अनुरोध गर्दछु । अन्यथा कुनै पनि व्यक्तिले गलत ब्याख्या गर्नुको कुनै औचित्य नरहेको समेत अध्यक्ष राईले सन्देशबाहकलाई जानकारी गराएका छन् ।