यो गीतबाट रिमालाई महिलाको अपमान भएको महशुस भएको छ कि छैन होला ?

देश विचार

चलचित्र समाजको बिम्ब प्रस्तुत गर्ने साधन हो । चलचित्र, टेलिफिल्म, गीतहरू भनेको सामान्य मान्छेले पनि सरल र सहज तरिकाले समाज बुझ्ने र केहि चेतना लिने माध्यम हो। संस्कार, संस्कृति, ईतिहास, समाजको चित्र पढेर त्यँहा भइरहेका विभेदलाई न्यायमा बदल्ने सन्देश दिने चित्र हो, चलचित्र । त्यसैले यसका पात्रहरुले समाजमा भैरहेका नराम्रो घटनाको खण्डन गरेर राम्रो बन्ने सन्देश दिनुपर्छ । तर, पछिल्लो समय यता यो देख्न पाईएको छैन ।

चलचित्र हेरेर, गीत सुनेर सामान्य मान्छेको चेतनामा कति प्रभाव पार्दै फरक बन्छ भन्ने मुख्य कुरा हो । तर, आजभोलीका चलचित्र हेर्दा ‘टिपिकल’ बन्न मनलाग्दी छाडा शब्दहरू धेरै बोलेको पाईन्छ । एउटा पुरूष महिलालाई जिस्काउने, अपमान गर्ने सिन सुरूमै हुन्छ र ताली मज्जाले बज्छ । तर, महिलाहरू किन त्यो अपमानलाई अस्वीकार गर्न सकिरहेका छैनन् ?

 उपभोगको साधन

आज भोलिका चलचित्रहरू महिला उपभोगको साधन हो भनेर मज्जाले प्रस्तुत गर्ने गरेको देखिन्छ । महिलालाई होटलको कोठामा लगेर किस्ता किस्तामा कपडा खोलेर संसारभर महिलालाई हामी यसरी लुट्छौ भनेर खुलेयाम पुरूष सम्मानित भएको हुन्छ । बलात्कार गरेको देखाईन्छ तर महिला चुपचाप हुन्छिन् । म महिला यो सहनुपर्छ, भनेको भाव देखाईन्छ, सँगै पुरूषले त्यसो गर्दा केहि समयमै पुरूषले फकाएपछि खुशी भएको पनि देखिन्छ ।

तर माया, स्नेह, यौनसम्बन्ध लगायतमा महिला पुरूषको बराबरी ईच्छा र सामिप्यता हुन्छ भन्ने किन बिर्सन्छन् ? तर महिलाहरू यो कुरामा कत्ति दुखि छैनन् । बरू खुशी पो देखिन्छन । कथा बस्तु भन्दा पहिले कोकाकला फिगर, सेक्सी लुक्स भएको कुन महिला कलाकारलाई लिदा चलचित्र बढि चल्छ त्यता तिर मात्र केन्द्रित हुन्छन् । शरीरको आकर्षण र लभ स्टोरी भन्दा बढि ऊ सँग भएको क्षमतालाई पहिलो प्राथमिकता किन दिईदैन ?

अगाडी होइन पछाडी

लभ स्टोरी हुनुपर्छ ठीक हो तर मायाको नाममा जिवनसँग कत्ति मेल नखाने कुराहरु ठिक छैनन् । लभ परिसकेपछि पुरूषको शासनमा रहनै पर्ने देखाईन्छ । होईन भने भट्टीमा महिलालाई बिभिन्न नामले जिस्काउदै भोलिबाट रक्सी पिएर, मातेर चुपचाप बसेकी श्रीमती कुटेको देखाउने कति जायज र चेतनामुलक सन्देश हो ? यति मात्र कहाँ हो र रण्डी, बेश्या, आमाको नाम जोडेर बोल्ने मा… जस्ता गालीले पुरूषत्व देखाउदै कोठाबाट लछार्दै घर बाहीर निकालिएको देखाईन्छ किन ?

साँच्चै यो भन्दा बढि हैसियतका चलचित्र बनाउन नसकेको हो कि चलचित्रमा काम गर्ने र हामी सामान्य जनताको यो भन्दा माथिको समाज बनाउने परिवर्तनको सम्भावना मरेको हो ? आजभोलि घरघरमा टिभी हेरेर सामान्य बच्चाले सिको गर्छन् । महिला कुटेर बहादुरीता देखाउनुपर्छ भनेर सानो छोराले सिक्छ । छोरीले शौन्दर्यताको नक्कल पहिले सिक्छन क्रमसः छोरी हुँदाका अपमान, गाली गलौच र पुरूषको ईशारामा बस्नुपर्ने रहेछ भनेर सिक्छिन । केही राम्रा कुरा नभएका पनि हैनन् । मुख्य कथा कता केन्द्रित छ भन्ने हो । हामी सानै हुदा टिभीमा आउने जुनकिरी टेलिफिल्म हेरेर छोरीलाई स्कुल बठाएका उदाहरणहरू थिए । तर राम्रो सन्देश पहिले सिक्ने चलचित्र निर्माणमा निर्माताहरूको ध्यान पुगोस् । यहि नै तरिकाले मात्र चलचित्र अघि बढ्ने हो भने समाजलाई अगाडी भन्दा पछाडी धकाल्ने काम हुन्छ।

सोच

हिजो मात्र भाई बैनीसँग बसेर चलचित्र हेर्दै थिए । रिमा बिश्वकर्माको अभिनय भएको गीत आयो । कस्तो रहेछ भनेर मैले पनि सुने। गीतहरू यस्ता सम्म बन्छन् र त्यो गीतमा अभिनय उनले गर्छिन भन्ने मलाई बिश्वास थिएन । महिलाको चेतनाको कुरा आउनु भन्दा पहिले शारीरिक शौन्दर्यताको कुरा आउँछ । पुँजवाद महिलाको अंग अंग नापेर बस्तु बनाईरहेको छ । जहाँ जहिले पनि सजिलै उपभोग गर्न पाईने होस । यो कुराले धेरै पुँजिवादी महिलालाई छोएको देखिदैन बरू अंग प्रदर्शनले पैसाको बार्गेनिङ गरेको देखिन्छ ।

यसैगरि भर्खरै मात्र बजारमा आएको गीतमा महिलालाई बुझ्न रिमालाई देखाएर केटी कस्ती छे ? भन्दा ‘घाँटी भन्दा तल त राम्री नै छे’ भनेर महिलालाई बुझ्ने पुरूषहरूको उपभोक्तावादी सोच देखिन्छ । स्वरमा भएको गीतमा रिमाले यति खुशी भएर अभिनय गर्दा साँच्दै त्यो स्तरको बुझाई र हैसियत भएका महिलाहरूलाई पनि केहि नहुने हो त भन्ने सोच्न बाध्य बनायो । साँच्चै महिलाहरू शरिरले मात्र राम्रा हुनरु रिमा यो अभिनय गर्दा साँच्चै खुशी छिन् ? उपभोग गर्ने शरिरको बाहेक महिलाको अरू कुनै काम छैन भन्ने गीत बन्दा बन्द गर्न माग गर्नुपर्ने सचेत रिमा यसरी नाच्दा महिलाको धरातलले निकै मन छोयो । महिला माथि यति अपमान हुने गीत बनाउनेहरूलाई प्रश्न गर्नुको सट्टा किन नाच्छन् ? यो गीतबाट रिमालाई महिलाको अपमान भएको महशुस भएको छ कि छैन होला ।

महिला मुक्ती

यसरी नै जाने हो भने महिला बस्तु बनेर शरिर उपभोगको लागि हो महिलाको काम यति हो भनेर कसरी सहनु ! तर यो कुरामा महिलाहरूको ध्यान किन जाँदैन र आफ्नै बिबेकले प्रश्न किन गर्दैनन ? पुरूषबाट मात्र महिला स्वतन्त्रताको कल्पना गर्ने र यसैगरि नाचिरहने हो भने महिला मुक्ती सम्भव छैन । पुँजिवादले महिलालाई सुनको पिंजडामा थुन्छ तर महिला त्यो पिंजडाको सुन मेरै हो भनेर बस्दा सुनको आकर्षणले पिंजडामा जिन्दगीको अन्त्य हुन्छ । महिलाहरूको शौन्दर्यता शारीरिक शौन्दर्यता भन्दा माथि नजाँदा सम्म महिलाहरूको बिकास र पहिलो प्राथमिकतामा पर्न सफल बिचार र बुद्दी कहिले हुदैन ।

त्रिभुवन बिश्वबिधालयमा सामाजबिज्ञान अन्तर्गत शान्ति, द्धन्द र बिकास बिषयमा पिएचडी अध्ययनरत लेखिका राजेश्वरी सुबेदी पूर्व नेकपा माओबादी निकट बिधार्थी नेता तथा हाल आहुति निकट बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध छिन् ।