परीक्षाको अघिल्लो दिन रातभर लोकसेवासम्बन्धि पुस्तक अध्ययन त गरिरहनुभएको छैन? पढ्नुहोस्, विज्ञका पाँच सुझाव

देश विचार

परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा गर्न अक्सर गल्ती के के हुन् ?
लोकसेवा आयोगको परीक्षामा थोरै सिटका लागि धेरैजना प्रतिस्पर्धीहरु सहभागी हुने भएकाले कलेजस्तरीय र अरु परीक्षाभन्दा फरक ढंगले उपस्थित हुन जरुरी हुन्छ ।

परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा मुख्य रुपमा तीन वटा कुरामा गल्ती गरेको पाइन्छ । पहिलो, पर्याप्त तयारी तथा योजनाविना परीक्षर्थीहरु परीक्षा हलमा आएका हुन्छन् । पर्याप्त तयारी तथा योजनाविना परीक्षामा सामेल हुनु केवल परीक्षाको औपचारिकता निर्वाह गर्नुमात्र हो ।

दोस्रो, परीक्षार्थीहरु सोधिएको प्रश्नको गहिराईमा नपुगी हतारमा उत्तर लेखन कार्यमा लाग्दछन् । प्रश्नले मागेको भन्दा आफूले जानेको उत्तर लेख्नमा परीक्षार्थीहरु बढी केन्द्रित हुन्छन् । यस किसिमको लखाइले जाँचकी र परीक्षार्थीबीच बुझाइमा फरकपना सिर्जना हुन जान्छ । कुनै पनि परीक्षामा जाँचकीलाई लेखाइबाट प्रभाव पार्न सकिएन भने परीक्षार्थी असफल हुनु नै हो ।

तेस्रो, परीक्षार्थीहरुले प्रभावकारी समय व्यवस्थापनमा ध्यान पुर्याएको हुँदैनन् । उदाहणका लागि यदि तीन घन्टाको परीक्षामा चार वटा प्रश्न हल गर्नु छ भने अक्सर परीक्षार्थीले पहिलो प्रश्नको उत्तर लेख्दा नै एक घन्टाभन्दा बढी समय लगाएका हुन्छन् । परीक्षामा सफलता पाउन निर्धारित समय अर्थात् ४५ मिनेटको समयसीमाभित्र प्रत्येक प्रश्नको उत्तर दिनु आवश्यक हुन्छ ।

बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले कुन कुन कुरामा ध्यान पुर्याउनुपर्ला ?
बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले मुख्य रुपमा पाँचवटा कुरामा ध्यान पुर्याउनुपर्छ । पहिलो, योजनाबद्ध अध्ययन र विषयवस्तुको बुझाइमा ध्यान दिनुपर्छ । अध्ययन गर्दा सकेसम्म आधिकारीक स्रोत सामग्रीमा ध्यान दिनुपर्छ । विषयवस्तुसँग सम्बन्धित ख्यातिप्राप्त लेखकका पुस्तकहरु, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रकाशित अनुसन्धानमूलक लेख, रचना, विज्ञ व्यक्तिहरुसँगको निरन्तर सम्पर्क तथा अन्तक्र्रिया परीक्षामा सफलता हासिल गर्ने मुख्य सुत्रहरु हुन् ।

दोस्रो, विगतमा सोधिएका प्रश्नहरुको पर्याप्त अभ्यास गरेर मात्र परीक्षामा सामेल भएको अवस्थामा लेखाई परिपक्व र बढी कन्भिसिङ हुन्छ । तेस्रो परीक्षामा उपस्थित हुँदा रिल्याक्स र कुल माइन्डमा जानु आवश्यक हुन्छ । खानपिन, सुताई, शारीरिक तथा मानसिक सन्तुलनमा विशेष रुपमा ध्यान दिनुपर्छ । परीक्षाको अघिल्लो दिन परीक्षार्थी रातभर अध्ययन गरेर परीक्षा हलमा पुगेको खण्डमा उत्तरपुस्तिकामा लेख्ने समयमा परीक्षार्थी शारीरिक तथा मानसिक रुपमा कम सक्रिय हुन सक्छ ।

चौँथो, प्रश्नले मागेको क्षेत्रमा मात्र उत्तर केन्द्रित गर्नुपर्छ । लेख्दा ‘भ्यालु एड’ गर्ने र आवश्यक कुरा मात्र लेख्नुपर्दछ । अनावश्यक गन्थन र लामो भूमिका लेखनमा अलमलिनु हुँदैन । पर्याप्त उदाहरण र राष्ट्रिय–अन्तर्राष्ट्रिय असल अभ्यास समेट्नुपर्दछ । पाँचौ, लेखाई निश्चित स्ट्रकचरमा लेख्दा उपयोगी हुन्छ । उत्तरको सुरुवात र निष्कर्ष जाँचकी मन जित्ने किसिमको हुनुपर्छ । बीचको भागमा पनि प्रश्नको मागअनुसार सिलसिलेवार, आकर्षक र सरल रुपमा प्रस्तुत हुनुपर्दछ ।

जाँचकीले कस्तो उत्तरको अपेक्षा गर्छ ?
जाँचकी परिपक्व, सिर्जनशिल र समालोचनात्मक उत्तरको अपेक्षा राख्दछ । लेखाइबाट नै जाँचकीले परीक्षार्थीको अध्ययनको स्तर तथा विषयवस्तुको ज्ञानको विषयमा बुझ्ने मौका पाउँछ । परिमाणात्मकभन्दा गुणात्मक लेखाईलाई प्रोत्साहन गर्दछ । सारमा भन्दा जाँचकीले सरल, सिलसिलेवार, तथ्यमूलक, प्रमाणमा आधारित र पर्याप्त अध्ययन तथा विश्लेषणसहितको उत्तरको अपेक्षा गर्दछ ।

परीक्षा हलमा छिरेपछि परीक्षार्थीले के के कुरामा ध्यान दिनुपर्छ ?
परीक्षा हलमा छिरेपछि परीक्षार्थीले मुख्य रुपमा तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, ‘कन्फिडेन्स लेभल’ बलियो हुनुपर्छ बलियो आत्मविश्वास नै परीक्षामा सफलता प्राप्त गर्ने पहिलो कडी हो । आफू अरु प्रतिस्पर्धीभन्दा कमजोर छु भन्ने धारणा किञ्चित् मनमा लिनु हुँदैन । दोस्रो, प्रश्लाई राम्रोसँग बुझेर मात्र उत्तरको सुरुवात गर्नुपर्छ । प्रश्नको पर्याप्त बुझाइविना सुरु गरिएको उत्तर सुरुवातदेखि नै बुझाइको स्तर, उत्तरको ढाँचा र लेखाइको निखारपनमा विशेष जोड दिनुपर्छ ।

तेस्रो, परीक्षा हलमा बसिसकेपछि आन्तरिक र बाह्य कुनै वातावरणले प्रभावित हुनु हुँदैन । उदाहरणका लागि परीक्षा हलनजिक सवार गुड्ने सडक भएमा सवारीको कोलाहल आउन सक्छ । परीक्षा हलभित्र पनि अरु परीक्षार्थीहरुले अनावश्यक रुपमा हल्ला गर्न सक्दछन् । वा अन्य कुनै अनपेक्षित अवस्था आउन सक्दछ । यस्तो अवस्थामा कुनै हालतमा विचलित नभई आफ्नो लक्ष्यतर्फ केन्द्रित हुनु परीक्षार्थीका लागि हितकर हुन्छ ।

लोकसेवाको तयारी कसरी गर्दा उपयुक्त हुन्छ ?
लोकसेवाको तयारी गर्दा सुरुवातदेखि नै सकारात्मक सोच र दृष्टिकोणका साथ उपस्थित हुनु उपयुक्त हुन्छ । म गर्न सक्छु भन्ने भावना अन्तर्मनबाट आउनुपर्छ । आधिकारिक र खोजमूलक सामग्री अध्ययनमा विशेष जोड दिनुपर्छ । विज्ञसँगको छलफल, सहकर्मीसँगको सामूहिक अध्ययन र निरन्तरको अभ्यास नै लोकसेवामा सफलता पाउने मन्त्रहरु हुन् । एक–दुईपटक असफल हुँदैमा सक्दिन भन्ने धारणा राख्नु हुँदैन । निरन्तरको प्रयासले पक्कै पनि सफलता हासिल गर्न सकिन्छ ।

                        ध्रुव घिमिरे, सह–सचिव, नयाँ पत्रिका, २०७५÷०४÷१९ गते प्रकाशित