द्विविधामा रहेकी विद्या भट्टराई भन्छिन्, पार्टीलाई तेरो आवश्यकता छ भनेर जिम्मेवारी दिन बोलाइन्छ भने म जान्छु’

देश राजनीति विचार समाचार

आगामी १४ मंसिरमा रिक्त रहेका ५० स्थानमा उपनिर्वाचन हुँदैछ । रिक्त यी स्थानमध्ये सबैको नजर कास्की–२ मा छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । जुन क्षेत्रबाट नेकपा नेता वामदेव गौतमले समेत उपनिर्वाचनमा चुनाव उठ्ने पछिल्लोपटक फेरी हल्ला फिजिएको छ । तर, गौतमले भने त्यतिबेलै विज्ञप्ति निकालेर भनिसकेका छन्, त्यहाँ चुनाव लड्दिन् । तर पनि यसअघि बालुवाटार स्रोतले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनलाई ग्रिन सिग्नल दिएको पनि सूचना प्राप्त भएको थियो । यद्यपि, अहिलेसम्म यसबारे गौतम मौन छन् । यता, विद्यार्थी राजनीति गर्दै अधिकारीसँग विवाह गरिन्, विद्या भट्टराईले । अधिकारीको निधनपछि नेकपाका अध्यक्ष प्रचण्डले अब उक्त क्षेत्रमा अधिकारीकै परिवारको मान्छे उपनिर्वाचनमा उम्मेदवार बनाउने समेत घोषणा गरे । उपनिर्वाचन हुन चार महिना बाँकी रहँदा उक्त क्षेत्रबाट निर्वाचनमा कस्लाई उठाउने ? भन्ने विषय अझैँ टुंगिएको छैन । तर, पार्टीले सररल्लाह र जिम्मेवारी दिएको अवस्थामा भट्टराईले पछि नहट्ने धारणा व्यक्त गरेकी छन् । यद्यपि, उनी अहिले दोधार अवस्थामा छन् । पार्टीले ‘निर्वाचनमा तपाई नै हो’ भनेर नभनेको अवस्था र अन्य कस्लाई उम्मेदवार बनाउने हो त भन्ने यकिन नभएको अवस्थामा उनी दोधारमा छन् । त्रिविको उपप्राध्यापक तथा त्रिविअन्तर्गत अनुसन्धान केन्द्रमा कार्यरत साथै तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवको कमाण्ड सम्हालीसकेकी उनको उपनिर्वाचनसम्बन्धि के छ प्रष्ट धारणा ? यहाँ उनकै शब्द जस्ताको तस्तै उतारिएको छ : 

प्राज्ञिक पेशामा रमाउँदै

उप प्राध्यापक हुँ। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अनुसन्धान केन्द्रमा कार्यरत छु। अनुसन्धानको काममा संलग्नछु। अनुसन्धानलाई समन्वय गर्ने मेरो जिम्मेवारी छ। सक्रिय राजनीतिमा हुँदाहुँदै विवाह भयो। म विस्तारै सक्रिय राजनीतिबाट प्राज्ञिक क्षेत्रतर्फ लागेँ। रविन्द्रजीले भनेर म प्राज्ञिक क्षेत्रतर्फ लागेको होइन। उहाँ जहिले पनि आफ्नो स्वतन्त्र पहिचान निर्माण गर्नका लागि जोड दिनुहुन्थ्यो। शुरुको केही समय गाह्रो लागे पनि अहिले प्राज्ञिक काममा रमाइरहेको छु।

सल्लाह भएको छैन

अहिलेसम्म उपनिर्वाचनसम्बन्धि कुनै कुराकानी भएको छैन। हिजो मसँग काम गर्नु भएको, मैले अग्रज मान्ने, दोस्रो तह, तेस्रो तह नेताहरुसँग एक प्रकारको कुराकानी भएको छ। तर त्यो अनौपचारिक मात्रै हो। उहाँहरुले अब के गर्ने हो भन्दा छलफल भएको हो। शीर्ष नेताहरुसँग कुनै प्रकारका सल्लाह भएको छैन। उहाँले आफ्नो मनको शुभेच्छा राख्नुभएको होला मसँग छलफल गरेर भन्नुभएको होइन।चुनाव हुँदैछ राजनीतिमा लागि रहेको विभिन्न व्यक्तिहरुको नाम आउनु स्वभाविक हो। त्यसमा कसैले पनि म इच्छुक छु, यतिको योगदान छ भनेर आउने विषय स्वभाविक पनि हो। त्यसलाई स्वभाविक मानेको छु। तर यो चुनाव एउटा फरक परिस्थितिमा हुन लागेको छ।

सोच

राजनीतिका आफ्नो विशेषता छन्। राजनीतिक प्रत्यक्ष रुपमा जनतासँग जोडिन्छ। दैनिक जीवनसँग जोडिन्छ। प्राज्ञिक क्षेत्रमा एउटा क्षेत्रसँग बढी जोडिएर काम गर्नुपर्छ। विद्यार्थीसँग बढी सम्बन्ध हुन्छ। दायरा अलि साँघुरो हुने हुन्छ। एकेडेमिसियनका पनि थुप्रै दायित्व हुन्छन्। हाम्रोमा पढाउने हो भन्ने मात्रै रहेको छ। तर आलोचनात्मक चेतको विकास गर्ने भन्दा पनि पढ्ने र पढाउने विषयमा बढी केन्द्रीत भइरहेको छ। विश्वविद्यालयका प्राध्यापकहरुलाई हेर्ने हो भने पनि उनीहरुले विचारको उत्पादन गर्नेभन्दा पढ्ने र पढाउने काम मात्रै गरेको देखिन्छ। ज्ञान उत्पादनको क्षेत्रमा धेरै काम भएको छैन। साँच्चिकै एकेडेमिक हुने हो भने धेरै वटा कलेजमा पढाउनेभन्दा पनि आफूसँग भएको क्षमता, विचारहरुलाई केही नयाँ धारणा ल्याउन सके त्यसले समाजलाई योगदान गर्छ भन्ने लाग्छ।

तपाई नै आउनुपर्छ
जिल्लाका साथीहरुको तपाई आउनु पर्छ, चुनावमा उठ्नु पर्छ, जिल्लामा आउजाउ बढाउनु पर्छ भन्ने अभिमत छ। म उहाँहरुसँग छलफलमै छु, सम्पर्कमै छु। तर निष्कर्षमा पुगिसकेको छैन। सक्रिय राजनीतिमा फेरि फर्किनु पर्छ भनेर धेरै तर्फबाट कुरा आएका छन्। ती सबै छलफल अनौपचारिक मात्र हुन्। अहिले विश्वविद्यालयमा काम गरिरहेको छु। चुनावमा उम्मेदवार हुने भए पनि त्यो निर्णय नभएसम्म विश्वविद्यालयमै हुन्छु। पार्टीमा सक्रिय राजनीतिमा भइरहेको भए ल आउनु न भन्ने वित्तिकै जान सजिलो हुन्थ्यो होला।

यदि अफर आयो भने….

राजनीति सबै विषयलाई नेतृत्व गर्ने ठाउँ हो। नीतिहरु बनेका छन् तर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अहिले पनि कमी छ। असल र सफल नेतृत्वको आवश्यकता छ भन्ने प्रकारको विषय पनि आएको छ। त्यसले गर्दा राजनीति झनै महत्वपूर्ण बन्दै गएको छ। शक्ति उत्पादन गर्ने भएकाले पनि त्यो शक्तिलाई जनतासँग कसरी जोड्ने, पु¥याउने भनेर व्यक्त गर्नसक्ने नेतृत्व हामीलाई आवश्यक छ।अहिलेसम्म म रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको काममा मात्रै सहभागी छु। पार्टीको कार्यक्रममा सहभागी भएको छैन। विश्वविद्यालय सदस्य हुँदासम्म पार्टीको कार्यकर्ताको रुपमा काम गर्नु हुन्न भन्ने मेरो बुझाइ हो। विश्व विद्यालयमा बसुन्जेल मैले प्राज्ञिक मर्यादाभित्र रहनु पर्छ। पार्टीलाई तेरो आवश्यकता छ, विश्वविद्यालयमा योगदान गरिरहेको छस् भनेर जिम्मेवारी दिन बोलाइन्छ भने म जान्छु। त्यो अर्कै अवस्था हो।

नत्र कसरी…

नेताहरुसँग एकसरो सल्लाह त हुनैपर्छ। नेतृत्वलाई म आउनु पर्ने हो कि होइन के लागेको छरु त्यो स्पष्ट हुनुपर्छ। जनमत भयो, आमजनताको साथ पनि छ तर पार्टी नेतृत्वलाई के लागेको छ त ? यो पनि महत्वपूर्ण विषय हो। म पछिल्लो केही वर्षदेखि विश्वविद्यालयमै रमाइ रहेकी छु। समाज र देशलाई त्यहीँबाट केही योगदान गरी रहेकी छु। राजनीतिमा फर्किंदा यो चटक्कै छाडेर आउनु पर्ने हुन्छ। म एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जानुपर्ने जानुपर्ने हुन्छ। हिजो सक्रिय राजनीतिमा थिएँ त्यो अर्कै कुरा भयो। त्यही भएर नेताहरुले औपचारिक रुपमा नभनेसम्म म कसरी आउन सक्छु र ?

मेरो बुझाइ

राष्ट्रियसभा जाँदा पनि मैले अहिलेको जिम्मेवारीबाट राजीनामा दिनै पर्छ। त्यसैले पहिलो सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा निर्णय लिनुपर्ने हुन्छ। त्यसपछि दोस्रो चरणमा प्रतिनिधि सभा कि राष्ट्रियसभा भन्ने कुरा आउनसक्ला। अहिलेसम्म आएका अनौपचारिक कुराहरुको पछि लागेर हुँदैन कि भन्ने मेरो धारणा हो। पार्टीको एउटा कार्यकर्ता अभावको विषय होला। पार्टीले हिजो जिताएको मानिसको अभाव होला। त्यहाँ व्यक्तिको मात्रै विषय रहेको छैन। व्यक्ति गौण कुरा हो। पार्टीले निर्णयपछि बल्ल व्यक्ति के कस्तो र कस्तो भूमिका भन्ने विषय आउँछ। अहिलेसम्म त्यो क्षेत्रका मानिसले रविन्द्रजीलाई तीन पटक निर्वाचनमा जिताएका हुन्। त्यो सम्बन्धका कारण मलाई माग गर्नु भएको हो। मेरो हिजोको पृष्ठभूमि पनि जोडिएको छ। अहिले विश्वविद्यालयमा भए पनि यतिको मानिस आए राजनीतिक योगदान गर्न सक्छ भन्ने पनि लागेको हुनसक्छ। यी विविधि पक्षका कारण यस्तो धारणा आएको हो भन्ने मेरो बुझाइ छ।

पार्टीले औपचारिक निर्णय गर्‍यो भन्ने सोच्नेछु। अहिलेसम्म सोचेको छैन। अहिले दुई वटा काममा व्यस्त भइरहेकी छु। रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको काम गर्दैछु। त्यसलाई कसरी दिगो बनाउने भनेर लागि रहेको छु। अफिस सञ्चालन गर्ने, सदस्यता वितरण गर्ने काममा हामी लागि रहेका छौं। आम मानिसमा जाने कार्यक्रम पनि गर्नुपर्छ भनेर सोच बनाएका छौं। प्रतिष्ठानका सन्दर्भमा नेतृत्वसँग कुराकानी भइरहेको छ। अर्कोतर्फ विश्वविद्यालयको काम पनि छँदैछ।
                                                                                      – नेपालखबरबाट साभार