सारी लगाएर कक्षा ११ मा पढ्न गएको पहिलो दिन नै विद्यार्थी प्रतिनिधिका रुपमा चयन सांसद चौधरी

देश समाचार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएर कलेज जान थालेकी छन् । यस वर्षको एसइईमा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी सांसद चौधरी नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा भर्ना भएकी हुन् ।

चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ कायम भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बुधबार सरकारी नम्बर प्लेटको सेतो स्कोरपियो गाडीमा उनी विद्यालय गएकी थिइन् । उनलाई देखेर शिक्षक तथा विद्यार्थी अचम्मित र खुसी दुवै थिए । सांसद चौधरीले दाङबाट एसईई परीक्षा उत्तीर्ण गरेकी हुन् । दुई दिनअघि सांसद चौधरीले सामुदायिक स्कुमा भर्ना गरेकी थिइन् । अब उनी नियमित विद्यालय गएर अध्ययन गर्ने बताएकी छन् ।

बुधबार पहिलो दिन सारी लगाएर विद्यालय पुगेसँगै शिक्षकहरुले चौधरीलाई सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । र, साथीहरुसँगै बसेर अध्ययन पनि गरिन् । तर, उनले सबै विषय पढ्न भने पाइनन् । किनकि विहान नै बैठक भएकाले उनी केही विषय पढेर फर्किइन् । उनले आफ्ना सहपाठीहरुलाई आफूलाई पनि सिकेका कुरा सिकाउन अनुरोध गरे ।

शिक्षकहरुसँग छुट्टिनुपूर्व चौधरीले कुरा गर्दै भनिन्, ‘सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नुपर्छ । अब, त म पनि विद्यार्थी हुँ । र, जनताको जनप्रतिनिधि पनि भएको नाताले सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन हामी सबैले पहल गर्नुपर्छ ।’ साथै, चौधरीलाई विद्यालय व्यवस्थापन समितिले विद्यार्थी प्रतिनिधिका रुपमा चयन गरेको छ ।

चौधरीको बाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् । २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्ने उनी विभिन्न ठाउँमा अपमानित भइन् र, पढ्न थालिन् । चौधरीकी छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष उनीसँगै एसईई दिएकी थिइन् । छोरी हाल नर्सिङमा अध्ययनरत छिन् ।