मन्त्री शाही कार्यक्रम उद्घाटन गर्ने, विप्लब बम पड्काउने

देश राजनीति समाचार

सुर्खेतः एक हप्तादेखि गृहजिल्लामा व्यस्त रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विस्फोट भएको छ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको समूहले मन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट गराएका हुन् । विप्लबको किल्ला मानिने सुर्खेत जिल्लामा मन्त्री शाही भित्रिएसँगै सुरक्षा चुनौती थप कडा पारिएको थियो । तर, त्यो कडा सुरक्षा र निगरानीबीच पनि विप्लबले बम विस्फोट गराएको छ ।

बुधबारमात्रै कालिकोटकै पचाल झरना गाउँपालिकामा एक कार्यक्रमको उद्घाटन गर्न पुगेको मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट भयो । कार्यक्रम स्थलभन्दा करिब ५ किलोमिटर टाढा बम विष्फोट भएको कालीकोट प्रहरीले जनाएको छ । त्यस्तै बिहीबार पनि मुख्यमन्त्री शाही लक्षित दुई वटा बम विस्फोट भएको छ । बिहान १० बजे कालिकोट रास्कोटमा दुई वटा बम विष्फोट गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए।

कोटिलागाउँबाट रास्कोटको एक कार्यक्रम उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाही लक्षित गरी करिव ३०० मिटरको दुरीमा बम विस्फोट गरेको प्रहरीले जनाएको छ। बम विस्फोटबाट कुनै पनि क्षति नभएको प्रहरीको भनाई छ। मुख्यमन्त्री शाहीसँग प्रदेशसभा सदस्य कुर्मराज शाही पनि साथमै रहेका छन्।

हप्ता दिन अघिदेखि मुख्यमन्त्री शाही गृहजिल्लाका विभिन्न औपचारिक कार्यक्रम उद्घाटन र नेता तथा कार्यकर्ता भेटघाटमा निस्किएका छन्। कालिकोटमा पछिल्लो सयम थप सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी शर्माले बताए। ‘पछिल्लो समय केही अराजक गतिविधि हुन थालेको छ,’ उनले भने,‘हामीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै केही कडाइ गरेका छौँ।’

मन्त्री शाहीको जिल्लामा आगमनसँगै बम विस्फोट गराउँदै आएको विप्लब समूहले विभिन्न स्थानमा मन्त्रीलाई लक्षित गरी बम विस्फोट गराउँदै आएको छ । मन्त्री शाही कालीकोट जाँदा लगातार दुई चोटी बम विस्फोट गरिएको छ । उक्त क्षेत्रमा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ जस्ता प्रभावशाली नेताको पकड रहेको छ । यद्यपि, मन्त्री शाही कालीकोट जाँदा लगातार दुई दिन बम विष्फोट गरेर आतंकित बनाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।