नेकपाका खाली विभागहरु भरिए, स्कूल विभागमा पोखरेल भर्ती

देश राजनीति समाचार

काठमाडौं । पद बाँडफाँड गर्न सकस भइरहेको अवस्थामा शुक्रबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले बल्लतल्ल ३३ विभागको जिम्मेवारी छिनोफानो लगाएको छ । शुक्रबार बिहान ११ बजेदेखि जारी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

नेकपाको स्कूल विभाग कस्ले हाँक्ने भन्ने विषय नसल्टिदा अधकल्चो अवस्थामा रहेका विभागहरु शुक्रबार सल्टिएका छन् । त्यसो त स्कूल विभाग प्रमुख नभई नछाड्ने दौडमा रहेका सबै प्रतिस्पर्धी साथीहरुलाई पछाडि पार्दै ईश्वर पोखरेलले उक्त विभागको कुुर्सीमा बसेका छन् भने त्यहिँ स्कूल विभागको कमाण्ड सम्हाल्न मरिहत्ते गर्दै आएका नेकपा नेता नाराणकाजी श्रेष्ठले भने प्रचार विभागको प्रमुख सम्हालेका छन् ।

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपाल, संसदीय विभाग प्रमुख सुवास नेम्वाङ, निर्वाचन विभाग प्रमुखको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्हालेका भने नीति प्रतिष्ठान प्रमुखको जिम्मेवारी झलनाथ खनालले पाएका छन् ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरुको नामावली समेत सार्वजनिक गरेको छ । बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको छ भने सातै वटा प्रदेशमा थप दुई–दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । शुक्रबार थप दुई दुई जना सहइन्चार्ज तोकेसँगै अब प्रत्येक प्रदेशमा तीन–तीनजना सहइन्चार्ज रहनेछन् ।

शुक्रबारको बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर, लालबाबु पण्डित, नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई मन्त्रालयको विभाग प्रमुख बनेका छन् ।