आजको पत्रपत्रिका : मेलम्चिको काम नौँ महिनादेखि ठप्प, पूर्वयुवराज पारसले ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरे

देश पत्रपत्रिका समाचार

मेलम्चीको काम ९ महिनादेखि ठप्प
आजको यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।

ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ ।
छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ ।

न्यायको आस न भरोसा

ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे ।

न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो ।

ड्युटीमा खटिएको प्रहरीमाथि हातपात
पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)लाई दुव्र्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ । थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई हातपात गरेका थिए। ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धमा खटपट
सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ । समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् ।

सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।