‘सरकार तपाईले हाँक्नुस्, अध्यक्ष प्रचण्डजीले हाँक्नुहुन्छ’

देश राजनीति समाचार

काठमाडौं । ‘सरकार तपाईले हाँक्नुस्, अध्यक्ष प्रचण्डजीले हाँक्नुहुन्छ’ आइतवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेकपाका नेता माधव कुमार नेपालले यहिँ प्रस्ताव टेबुल गरे । त्यसपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पड्किई हाले । र, अध्यक्ष र नेता नेपालबीच चर्काचर्की सुरु भयो । तर, नेपालले बैठकमा अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न भने आग्रह गरि नै रहे । नेता नेपालको एउटै ढिपी थियो–अध्यक्ष ओलीलाई अध्यक्ष पद छाडेर प्रधानमन्त्रीको मात्र जिम्मेवारी सम्हाल्ने ।

अध्यक्ष ओली र नेपालको चर्काचर्कीपछि नेपालले प्रचण्डलाई अध्यक्ष बन्न आग्रह गरेका थिए । तर, नेपालको प्रस्तावमा प्रचण्डले भने ओलीलाई नै समर्थन जनाए । यसअघि सार्वजनिक कार्यक्रममा दुई मध्ये एक पद आफुले पाउनु पर्ने दावी गर्दै आएका प्रचण्ड आइतवारको बैठकमा फरक रुपमा उभिए । उनले ओलीलाई नै समर्थन जनाए, दुवै कुर्सीका लागि ।

यद्यपि, नेता नेपाल भने प्रधानमन्त्री ओलीलाई अध्यक्ष पद छाड्नु पर्नेमा नै थिए । ‘एकै व्यक्तिले दुवै पद लिएर काम गरेको सुहाउँदैन र, यस्तो परिपाटीको निर्माण गर्न पनि हुँदैन । त्यसैले एकजना (ओली) ले सरकार चलाउनुस्, अर्का (प्रचण्ड) ले चलाउनुस् कति उपयुक्त हुन्छ ।’ तर, नेपालको प्रस्तावमा चिढिएका ओलीको मनोविज्ञान बुझेर प्रचण्डले रिझाउने अभिव्यक्ति दिए,‘उहाँको रुचि नमारौँ । हामीले मात्र निर्णय गरेर हुँदैन’

नेपाल अध्यक्ष ओलीसँग यसरी चिढिनाका कारण पनि थियो । कारण–नेपालको बरिष्ठता खोस्दै खनाललाई बरिष्ठ बनाईएको छ । त्यसो त नेपालले पूर्वएमालेभित्रका जुनियर नेतालाई सचिवालयमा राख्ने तर सिनियर नेतालाई बाहिर राख्ने काम ठिक नभएको भन्दै आक्रोश पोखेका हुन्।