भोटेकोसीमा आएको बाढीले रसुवाको बेलब्रिज बगायो

देश समाचार

काठमाडौं । अविरल वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । आइतबार आएको बाढीले बेलब्रिज बगाएको हो । टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले आइतबार नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको जानकारी दिएका हुन् । नदीमा बाढीले बेलब्रिज बगाएपछि आवतजावत ठप्प भएको छ । प्रजिअ भण्डारीका अनुसार अबको विकल्प टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

भोटेकोसीको पानीको बहाब बढेसँगै प्रशासनले स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेकोले कुनै मानवीय क्षति हुन पुगेन । राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको भण्डारीले बताए ।

तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढेपछि राति नै भन्सारमा रहेका ट्यांकरलगायत सवारी साधनई सुरक्षित स्थानमा सारिएको थियो । यद्यपि, सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको थियो ।