प्रचण्डका ‘एस म्यान’ सुमार्गीको कम्पनी नेपाल स्याटेलाईटको अनुमतिपत्र खारेज, अब के हुन्छ ?

अर्थ देश समाचार

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका विश्वासिला व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गरिदिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिना भित्र बाँकी रकम तिर्न म्याद दिएपनि उक्त समय अवधिभित्र रकम बुझाउन नसकेपछि अनुमति पत्र खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका हुन् ।

व्यापारी सुमार्गीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेकोे छ । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको थियो । मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको नेपाल स्याटेलाइटलाई प्राधिकरणले गत चैतमा असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।

यद्यपि, असार मसान्तसम्म बक्यौता नबुझाउनेलाई प्राधिकरणले १० दिने म्याद दिएर स्पष्टिकरण सोधेको थियो । नेपाल स्याटेलाइटले स्पष्टिकरणको जवाफ दिंदै काठमाडौंमा सेवा विस्तारको अनुमति दिए मात्र बक्यौता तिर्ने शर्त गरेको थियो । यससँगै बक्यौँता रकम नतिरेपछि नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गरिएको छ । प्राधिकरणका

अध्यक्ष खनालले सुमार्गीले ३५ दिन भित्र अनुमति पत्र खारेजीको निर्णय विरुद्ध उजुरी हाल्न सक्ने बताए । तर, आफूहरुले दिएको समय सीमाभित्र बक्यौता रकम नतिरेपछि समितिले नै खारेजीको निर्णय गरिएको पनि बताएका छन् ।