रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष घिमिरेले व्यक्तिगत फाइदा उठाउन खोजिएको भन्दै किन राजिनामा दिए ?

देश समाचार

काठमाडौं । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ का स्थायी वासिन्दा सरोज घिमिरेले सोमबार एक विज्ञप्ति मार्फत संघर्ष समितिको आवरणमा गलत काम गर्नेहरूले मञ्च कब्जा गरेकाले भन्दै राजिनामा दिएका हुन् ।

सोमबार विज्ञप्तिमार्फत् गणतन्त्रविरूद्धका नारा उराल्नेदेखि हिंसात्मक समेत गतिबिधि हुन थालेपछि आफूले राजिनामाको बाटो रोजेको जानकारी दिएका छन् । ‘मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीका सन्दर्भमा आवश्यक अनुसन्धानका लागि न्यायिक हिरासतमा रहनुभएका पत्रकार रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस भनि रवि लामिछाने बचाउ संघर्ष समिति गठन गरी म सरोज घिमिरे अध्यक्ष भई स्वतन्त्र छानविन र न्यायका लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्रमाथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित गरी भड्काउन खोजेको एवं समितिको नाममा बाह्य व्यक्तिबाट व्यक्तिगत फाइदा उठाउन खोजेको र समितिको कुनै औचित्य नै नभएको हुँदा छानविन कार्यलाई नै प्रभावित गर्ने जस्ता उच्छृङखल गतिविधि हुन लागेको भएकाले आज मिति २०७६/५/०२ देखि अध्यक्षको भूमिकामा नरहेको व्यहोरा सर्वसाधारण लगायत सबैमा जानकारी गराउँछु ।’ उनले विज्ञप्तिमा मन अमिलो पार्दै भनेका छन् ।

समितिले शान्तिपूर्ण आन्दोलन गरिरहँदा भीडमा त्यस्ता अराजक व्यक्तिहरुको प्रवेशले गणतन्त्र नै खलबलिएको भन्दै आफू पदबाट राजिनामा दिएका स्पष्ट बताएका छन् । उनको राजिनामासँगै स्थानीयको साथ लिएर रवि लामिछानेको नाममा हिंसा भड्काउन खोज्ने एउटा समिति बिघटन भएको छ । घिमिरेले छानविनलाइ नै प्रभावित पार्ने गतिबिधिहरू भएकाले आफूले संघर्ष समिति छाडेको पनि बताएका छन् ।

त्यसो त, पत्रकार दिलनिशानी मगरले पुडासैनी प्रकरणमा आफ्नो धारणा व्यक्त गरिसकेका छन्– रवि लामिछाने समर्थकले स्वतन्त्र रुपमा आन्दोलन गर्न पाउनुपर्छ तर, भीडमा गणतन्त्रको नाममा राजतन्त्रको टिको लगाएर गणतन्त्रलाई धरापमा पार्ने काम हुनुहुँदैन । यो देखिएको छ । त्यसो त केही दिनअघि नयाँबानेश्वरस्थित बिजुलीबजार पुलमा लामिछाने समर्थकले आयोजना गरेको आन्दोलनमा राजाको टिसर्ट लगाएर हिड्ने समर्थकहरु पनि देखिएका थिए । ठीक यहि बेला घिमिरले अध्यक्ष पदबाट राजिनामा दिनुले अर्काे खतराको घडीको संकेत गरेको छ ।