के मैले भिडियो ‘एडिटिङ’ गरेर शालिकरामजी ब्युतिने र रवि लामिछानेजी द्वोषि ठहरिनुहुन्छ ? (भिडियो पनि हेर्नुहोला)

देश समाचार

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ आफू हल्लाको पछि नदौडिने र सँधै सत्यको बाटोमा हिँडेको बताउँछन् । १६ वर्षको उमेरदेखि प्रेस स्वतन्त्रताका निम्ति टाउँकोमा प्रहरीको लठ्ठी खाएर मुलुकमा वाक स्वतन्त्रता भित्र्याएको अनुभव सुनाउने उनी आफूले मृतक पत्रकार शालिकराम पुडासैनीको भिडियो आफ्नो मोबाइलमा सुरक्षित रहेका सुनाउँछन् । र, चाहेको खण्डमा दिन पनि तयार रहेको बताउँछन् । उनीमाथि विभिन्न निकायसँग साँठगाँड गरी भिडियो एडिटिङ गरिएको आरोप मात्र लागेन उक्त समाचार उनकै पत्रिकामा किन छापियो त ? जनआस्थाभन्दा थुप्रै नाम चलेका पत्रिका र पत्रकारहरु थिए । किन उनकैमा छापियो । उनले यो प्रश्नको पनि सहज जवाफ दिएका छन् । यसै सेरोफेरोमा आधारित रहेर उनै श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ जस्ताको तस्तै :

यो भिडियो समाचार अरु कुनै पत्रिकामा नआएर तपाईकै पत्रिकामा किन आयो ? यतिका धेरै पत्रकार र पत्रिका थिए त ।
यो जवाफ उहाँ (मृतक शालिकराम) को परिवारसँग गएर सोध्नुहोस् । किन जनआस्था नै रोज्नुभयो, अन्त जानुभएन । किनकि यस्को जवाफ त उहाँहरुसँग छ नि ।

प्रहरीबाट आउनुपर्ने भिडियो पहिले तपाईबाट किन आयो ?
पत्रकारिताको आंशिक वा केही पनि नबुझेको मान्छेले त यहिँ भन्ने हो । तर, पत्रकारले नै यो प्रश्न सोध्यो भने अर्काे ठूलो प्रश्न उठ्छ । पत्रकारलाई किन कलम बोकिस् भन्नु र सिपाहीलाई किन बन्दुक बोकिस् भन्नु एउटै कुरा हो । पत्रकारले खोज्ने भनेको समाचारभित्रको पनि समाचार हो नि । त्यो खोजेको मात्र न हो । त्यो भन्दा मेरो गल्ति छ, भन्नुस् त ।

तर, तपाईले भिडियोलाई एडिटिङ गरेर समाचार बनाएको आरोप छ नि ?
पहिलो कुरा म एक्स्पर्ट (आइटीको मान्छे) होइन । मेरो मोबाइलमा भिडियो छ तपाई त्यो लान सक्नुहुन्छ, यदि त्यस्तो हो भने । नेपाल प्रहरीको फोरेन्सी ल्याबमा पनि टेस्ट गर्न सक्नुहुन्छ । मेरो मोबाइल यहिँ छ लगेर हेरे हुन्छ । कूल १३ मिनेटभन्दा एक सेकेन्ड माथि छैन ।

तर, बाहिर २३ मिनेटको भिडियो छ भनिएको छ हैन र ?
मैले पढेको छु । यहाँ त रडले कुटेर उधुम मच्चाइएको छ । तर, म हल्लाको पछि दौडिदिन । म सत्यतथ्यमा विश्वास गर्छु । फेरी पनि म के भन्छु भने–प्रहरी, परिवार र मसँग रहेको १३ मिनेटको भिडियो ट्याली गरियोस् एक सेकेन्ड भन्दा तलमाथि भयो भने कारबाहीको भागिदार हुन तयार छु ।

तपाईले दिनुभएको भिडियोे कति मिनेटको हो ?
१३ मिनेटकै हो । तर, उहाँहरु (नेपाल आज) लेचाहिँ के भन्नुभएको छ भने पारिवारिक पीडा थप नपरोस् भनेर अगाडिका भिडियो एडिटिङ गरिएको छ । यद्यपि, दुईवटा भिडियो क्लिप रहेको छ । अघिल्लो चार मिनेटको पारिवारिक सम्बन्धि र पछिल्लोचाहिँ अहिले देखिएको भिडियो हो ।

तपाईले यसोचाहिँ किन गर्न लगाउनुभएको हो ?
मैले गर्न लगाएको होइन । त्यो उहाँहरुको रोजाइ हो । मैले दुइवटै भिडियो दिएको हुँ । अहिले तपाईलाई पनि चाहियो भने दुईवटै दिन्छु । अब, त्यसको भाग कति राख्ने नराख्ने तपाईसँग निहित रहने विषय हो ।

तर पनि भिडियो एडिटिङ गरिएको भनेर तपाइमाथि नै आरोप र समस्या छ नि,
कसरी मेरोमा समस्या छ । फेरी तपाईले गलत बोल्नुभो । मैले अघि पनि भनिसके, मसँग जति मिनेटको भिडियो छ त्यो तपाईले लैजान सक्नुहुन्छ । बाँकी काँटछाँट गर्ने काम तपाईको हो । तर, शालिकरामले बोलेकोभन्दा तलमाथि गर्न पाईएन । के मैले बोलेका कुरा सबै हाल्नुहुन्छ र, भिडियोमा । एडिटिङ त गर्नुहुन्छ नि । के अब मैले भिडियो एडिटिङ गरेर शालिकरामजी ब्युतेर आउनुहुन्छ ? के यसो गरिएको खण्डमा रवि लामिछाने जी द्वोषि ठहरिनुहुन्छ ? यो अनुसन्धान गर्ने कुरा हो ।

तपाइले यो समाचार नछापेर प्रहरीलाई सहयोग गरिदिनुभएको भए हुने थिएन ?
प्रहरीको पाटोमा जान्ने कुरा भएन । उस्ले उस्को पाटोमा गर्ने हो । तर, हामीकहाँ पीडितले प्रहरीले उल्टो लाञ्छना भएको भन्दै चरित्र हत्या गरियो भनिएपछि हामीकहाँ आउनुभएको हो । यसमा सहयोग गर्नु मेरो के द्वोष हो र । मैले त मिडियाको कर्तव्य पूरा गरे नि ।

फेरी पनि नढाटी भनिदिनुस् त्यो भिडियो १३ मिनेटको थियो ?
मेरो मोबाइल यहिँ छ । त्यो भित्र जति छ त्यहिँ छ ।

अगाडी सिरानी छैन, बिचमा छ । तपाईलाई के लाग्छ ?
त्यो अनुसन्धान भइरहेको छ । अनुसन्धानले बताउने कुरा हो । यसकारण म अनुसन्धानको पाटोतिर जाँदै जान्न । तर, भिडियोले आत्महत्या नै देखाउँछ । म रवि लामिछानेजीमाथि लाञ्छना लाग्यो भन्दैमा हाँस्दिन । जानेर या नजानेर अमेरिकाको बसाई छाडेर नेपालमै पत्रकारितामा केही गर्छ भन्ने मनसाय बोक्नुभएको होला । ठीक छ हामी पूराना प्रिन्ट मिडियाका पूस्ता उहाँ नयाँ प्रविधिमा दख्खल राख्ने नयाँ पूस्ता । शुभकामना छ । रिस गरेर हुँदैन । तर, अहिले यो प्रकरणमा उहाँलाई जोगाउनुपर्छ भनेर हिँडियो भने त उहाँ आजिवन यो मुद्धामा डामिनुहुन्छ नि, हैन र ।

हामीले उतिबेला क्लिन चिट पाइसकेको केसमा त उहाँहरुले हत्यारा हो भनिरहनुभएको छ भने अब रविजीले पनि यो भन्नुपर्यो नि त–किशोर श्रेष्ठमाथि पोहोर साल (जनआस्थाको विश्वमणि सुवेदी, यादव पाण्डे र पत्रिकामाथि) लगाएको आरोप गलत, झूठ र अन्याय गरेछु भनेर । कोही मान्छे पीडाविना मर्दैन । यो घटनामा उहाँलेचाहिँ म निर्दाेष छु भन्न पाउने हामीलेचाहिँ किन नपाउने ! हामी निर्दाेषिता ठहर भएर पनि हत्याराको आरोप खेपिरहनुपर्ने । उहाँमाथि त्यत्रो आरोप लाग्दा पनि निर्दाेषिताको सर्टिफिकेट अहिले नै भिराएर राज्य संयन्त्रले र अदालतले छोडिहाल्नुपर्ने ! म भन्छु– यो भीडमा उहाँको नाममा जस्ले राजनीति गरिरहेको छ, कुनै दिन यहिँ भीडले कर्ण वा दानव बनाइदिन सक्छ । आज देवता बनाएको छ भने भोलि दानव पनि बनाउन सक्छ । हामी अहिले गालीबाट पैसा कमाउने पेशामा छौँ । १६ वर्षको उमेरदेखि म प्रेस स्वतन्त्रताको निम्ति लड्दै आएको छु । अराजकताको लागि होइन । मरेकोलाई ज्यूँदो, ज्यूदोलाई मर्न होइन ।

                         क्यानडा नेपाल भिडियोबाट साभार गरिएको अन्तर्वार्ता

भिडियो हेर्न यहाँ थिच्नुहोस्