टेकुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि रवि लामिछानेकी पत्नी निकिता र दाजु हरिशरण बबरमहलमा

देश समाचार

काठमाडौं । न्युज २४ टेलिभिजन ‘सीधा कुरा जनतासँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमति निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरीले यो काम आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै दर्ता गर्न अस्विकार गरेको हो ।

पत्रकार लामिछानेकी श्रीमति र दाजु हरिशरण लामिछाने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका संकेत कोइरालाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए । उनीहरुले मुलुकी फौजदारी सहिंता–२०७४ को दफा २७६ र २७७ मुलुकी अपराध सहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा टेकेर किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले अस्वीकार गरेको छ।

प्रहरीले अस्वीकार गरेपछि निकिता, हरिशरण र वकिल राजेन्द्र सेढाई बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयतर्फ हिँडेका छन् । उनीहरुले त्यहाँ उजुरी दिने बताइएको छ । पत्रकार लामिछाने पत्नी पौडेलले मृतक पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा खिचेको भिडियो चितवन प्रहरी प्रमुख एसपी  मल्ल, जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठ र नेपाल आजका सम्पादक कोइरालाले किर्ते गरेर सार्वजनिक गरेको दाबी गर्दै उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बुधबार दिउसो साढे १ बजे उजुरी दिन पुगेकी थिइन् ।

तर, प्रहरीले उक्त पौडेलको उजुरी दर्ता विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र प्रहरीबाटै अनुसन्धान भइरहेका तर्क गर्दै किटानी जाहेरी लिन अस्वीकार गरेको छ । चितवनको कंगारु होटेलमा सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरेको थियो । पाँच दिनका लागि अनुसन्धान गर्ने भनिए पनि फेरी पाँच दिनको म्याद थप गरिएको छ ।