‛दसैँ नै हो कि यो मेरो दशा’

Uncategorized समाचार
  • एकराज रुम्दाली
  • दसैँको कथा

हिन्दु धर्मावलम्वीहरुले दसैँलाई महान पर्व मान्छन् र त बडादशैँ भन्छन् । दसैँ हिन्दुले मात्रै मनाउँदैनन् । सदियौँदेखि अन्य धर्मावलम्बीहरुले पनि मान्दै आएका छन् । मनाउनुको पछाडि राज्यले जर्बजस्ती लादेको इतिहास छ, भनिन्छ । सवैले मनाएपछि दशैँले राष्ट्रिय पर्वको आकार लिएकोे छ । तर यतिमात्रै बुझेर हुँदैन । यसभित्र बुझ्नुपर्ने कुराहरु धेरै छन् । कम्तिमा यो आधुनिक समाजले यसको समिक्षा त गरिरहेकै छ । अहिले भने, दशैँ पर्व मनाउनुका दुई पौराणीक कथाहरु पढौ । यिनै कथालाई आधार मानेर दसैँ मनाइएको हो कि भन्ने हिन्दुहरुको मत रहेको छ ।

कथा‐१  
हिन्दु धर्मशास्त्र देवी पुराणमा एउटा सत्य युगको कथा छ । जहाँ महिषासुरलाई दैत्यका सम्राट र इन्द्रलाई देवताहरुको राजा भनिएको छ । कथाअनुसार‐ महिषासुर र इन्द्रबीच ठूलो लडाई हुन्छ । लडाइमा देवता भनाउँदा इन्द्र महिषासुरसँग हार्छन् । त्यसपछि महिषासुरले सवै देवताहरुमाथि शासन गर्न थाल्छन् । यो देखेपछि देवताहरु डरले भागेर ब्रह्माको शरणमा पुग्छन् । ब्रह्माले पनि बिष्णुलगायत देवताहरुलाई महादेवको शरणमा पुग्न सल्लाह दिन्छन् । सवै महादेवकहाँ पुग्छन् । र, आ‐आफ्नो शक्ति निकाल्ने निर्णय गर्छन् । यसरी निस्किएका शक्तिहरुले नवदुर्गा भगवतीको रुप धारण गर्छ । अनि दुर्गा महिषासुरसँग युद्ध लड्न जान्छिन् । भिषण युद्ध लडेको नवौँ दिनमा महिषासुर दुर्गाद्धारा मारिन्छन् । त्यसपछि दशौँ दिनमा विजय उत्सव मनाइन्छ । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको हुन्छ । त्यसैले दशमीका दिन विजयको टीका लगाई दशैँ मनाइन्छ । कथा सकिन्छ ।

कथा‐२
अब, दशैँको प्रसंगसँग जोडिएको दोश्रो कथा पनि पढौँ । यो कथा रामायण र श्रीमद देवी भागवतमा छ । जसअनुसार– पात्रहरुमा राम र रावण हुन्छन् । राम रावणको बध गरेर अयोध्या फर्किन्छन् । र, त्यहाँ ठूलो जनसभाको आयोजना हुन्छ । सभामा रामको जयजयकार गरिन्छ । उनको वीरताको चर्चा सर्वत्र हुन्छ । तर उनकी पत्नी सीता भने मुख बंग्याएर फिस्स हाँस्दै व्यंग्य गर्छिन् । यो दृश्य विश्वमित्रले देखेका हुन्छन् । जब जनसभा सकिन्छ अनि विश्वमित्रले सितालाई यसबारे सोध्छन् । सिताले भन्छिन्‐ ‛त्यो जाबो दश टाउके रावण मारिदा त यत्रो बीरताको बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणको बध गरे रामको कस्तो बखान गर्दा हौ ! त्यसैले म हाँसेकी ।’ सीताको यो कुराले रामको पुरुषार्थमा धक्का लाग्छ । सभामा ठूलो खैलाबैला मच्चिन्छ । अब, रामले दुवै अहि र महि रावणलाई मारिछाड्ने प्रतिज्ञा गर्छन् । केही समयपछि राम र रावणहरुबीच भीषण युद्ध हुन्छ । तर राम र उनका भाईहरु युद्धमा मुर्छित हुन्छन् । कोलाहल मच्चिन्छ, उनीहरु हार्ने स्थितिमा पुग्छन् । त्यसैबेला एक्कासी सीताले नवदुर्गा भगवतीको रुप धारण गर्छिन् । र, ति दुवै रावणहरु मार्छिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको हुन्छ । र, दशमीको दिन विजय उत्सब मनाइन्छ । यसरी दशैँ पर्व मनाइएको कथामा उल्लेख छ । यी कथा सकिएपछि कथाले सिर्जना गरेका नेपाली समाजका तिता–मिठा घट्नाहरु हेरौ ।

  • भिडियो

‛दशै आयो, खाउन पिउन
नयाँ नाना लगाई, हामी पिङ खेलौन
दशै आयो, उमंग ल्यायो, सारा संसारमा खुसियाली छायो
माथिमाथिमाथि चंगा उडाई मज्जा गरौन
रातो टिका अनि जमरा लगाई आशिष थापौन ।’

सुगम पोखरेलले चारवर्षअघि गाएका रोमान्टिक दशैँ गितको सुरुवाती अंश हो यो । आजभोली यस्ता दशैँया म्युजिक भिडियो बजारमा ल्याउन थुप्रैले होडबाँजी गर्छन् । यो वर्षपनि टंक बुढाथोकी, सुनिल गिरीलगायतका दशँैया म्युजिक भिडियो युट्युव खोल्नासाथ देखिन्छन् । भने पूराना तथा नयाँ चलचित्रहरुमा पनि दशैँलाई उस्तै गरी देखाइन्छ । जुनै भिडियो होउन् तिनले छुट्टै स्वाद दिलाउँछन् । शहरमा आएका गाउँलेले भिडियोमा मच्चिएका पिङ देख्दा गाउँ कुदिहालुँ हुन्छ नै । सफा थालीका पहेँला जमरा र रातो टीकाले मनमा उस्तै चहक दिन्छन् । आकाशिएका चंगाका दृश्यले मन सुइयाँ उड्छन् । ‛तर दशैँलाई महान पर्व देखाउन अनगिन्ति व्यथाहरु लुकाएर भिडियोमा उत्सव देखाउनु परेकोे यथार्थ जगजाहेर नै छ । राज्यले गैह्रहिन्दुहरुमाथि गरेका अन्याय अत्याचारका इतिहासहरु भिडियोमा कहिल्यै देखाइदैनन् । दशैँ नमनाएको भनी हत्या गरिएका रामलिहाङका दृश्यहरु कहिँ भेटिदैनन् । खैँ पशुको शिरोच्छेदन गरिएका दृश्यहरु भनेर विद्रोहात्मक प्रश्नहरु पनि गरिन्छन् ।’

  • उठ्बस

हिन्दु धर्मावलम्बीहरुको दशैँ धेरै तरिका पुर्याएर मनाइन्छ । घर लितपोत गरेर नयाँ देखाउनु, नयाँ कपडा फेर्नु, अनेक थरीका भोजनहरु बनाउनु, सवैसँग खुसी साट्नु, पाहुना जानु–आउनु, पिङमा मच्चिनुलगायतका गतिविधि यो पर्वमा हुने गर्दछ । तर गैह्रहिन्दु जनहरुमा भने कसैले टीका लगाउँछन त कसैले लगाउँदैनन । खान्छन्, पिउँछन्, खेल्छन् । रमाइलो पनि गर्छन् । कसैले विरोध गर्छन् त कसैले केही पनि गर्दैनन् । जे होस सवैलाई नयाँपनको अनुभुति हुन्छ नै । ‛तर यो दशैँको भित्री कुरा बुझ्दा दशै मान्नु भनेको बत्तीमा झुम्मिएका पुतली हुनु जस्तै हो । राज्यले किरातीलगायत अन्य जनजातिलाई सदियौँदेखि नै दबाइल्याएको ज्यूँदो इतिहास दशैँले अझै बोँकिरहेको छ । त्यसैले जहिलेसम्म दशैँ रहन्छ तबसम्म यसको बर्बर इतिहासले सवैलाई विद्रोही बनाइरहने छ । र, सवै नेपालीको मनलाई जोडिरहेको नभई रक्तरंजित कार्यलाई मात्रै उक्साइरहेको टिप्पणी पनि गरिन्छ ।’

  • लेखन

नेपाल प्रज्ञा‐प्रतिष्ठानद्धारा प्रकाशित नेपाली बृहत्त शब्दकोषमा दशैलाई नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड, विजय दशमीको रुपमा उल्लेख गरिएको छ । त्यस्तै नेपालका प्रायजसो सवै संचारमाध्यमहरुले दशैँमा उल्लासमय शुभकामना सन्देशहरु प्रकाशन र प्रशारण गर्छन् । थुप्रै सर्जकहरुले यसबारे वर्षैपिच्छे केही न केही लेख्छन् । कतै कविता, निवन्धलगायतका आइटममा दशैँलाई प्रस्तुत गरिन्छ । महिषासुर र दुर्गाको कथा ओकल्दै असत्यमाथि सत्यको विजय भएको सन्देश दिइन्छ । र, विजय उल्लासका साथ मनाइने महान पर्वको रुपमा दशै रहेको निश्कर्षले सिर्जनाको बिट मारिन्छ । यस्ता लेख ब्राह्मण समुदायबाटै लेखिन्छन् र प्रकाशन र प्रसारण गरिन्छन् । गैह्रहिन्दु व्यक्तित्वहरुले पनि सबै जातजातिका पर्वलाई दशैँ जस्तै रुप दिन अपिल गर्दै केही लेख्छन् । विद्धान तथा लेखक वैरागी काइलाले भनेका छन्– ‘सांस्कृतिक हिसाबले आफ्नो होइन, तर पनि छिमेकी समुदायको चाडबाडमा कोही दुःखी हुँदैन । आनन्दले मनाइदिन्छ उसले पनि । यही हो आदिवासी(जनजातिको राम्रो कुरा ।’ कसैका विद्रोहात्मक सन्देश प्रवाह गर्ने खालका रचना नि हुन्छन् ।

  • कमाइ र खर्च

दशैँमा सजिलै मनग्गे दाम कमाइन्छ । आफन्तकोमा आशिर्वाद माग्न जानै पर्छ । रातो टीका र जमरा भिराइहाल्छन् । र, हातमा दाम पनि थमाइ पठाउँछन् । यो त सामान्य कुरा हुन् । अझ, सरकारले त दशैँमा यहाँका सरकारी कर्मचारीहरुलाई राज्यको ढुकुटीबाट अरबौ रुपियाँको टीको लगाइदिन्छन् । हप्तौको विदा पनि हुन्छ । यसरी जनताको अर्बौ रकमको कर राज्यले कर्मचारीको दशैँ भत्तामा खर्च गरिनुले देशको समृद्धिमा बाधा पुगेको विश्लेषण गरिन्छ । दशैँले घाटामा गएका उधोग,व्यापार‐व्यवसाय पनि राम्रै गरी उक्सिन्छन् । तर दशैँमा यातायात दुर्घट्ना, चोरी–डकैती, अत्याधिक मादक पदार्थ सेवन, झै–झगडा, जुवा–तासलगायतका असामाजिक कार्यहरु पनि बढ्दो छन् ।

  • खानेकुरा

वर्षमा एक पटक आउने पर्व दशैँमा मिठा‐मिठा परिकारले जिब्रो पड्काउन पाइन्छ । खसी, बोका, राँगा, कुखुराको मार हानिन्छ । अनि त दशैँमा मासु–भात कति खानु । जसकामा गएनी पशुपंक्षीको मार हानिएकै हुन्छ । नेपालमा एकदुई छाँक मासु खाए त दशैँ नै भयो भनिन्छ । झन् दशैँमा त मारै हानेपछि थुप्रै दिन मासु नै मासुको परिकार हुने नै भयो । तर, दशैँमा टीकाका नाममा खेर पठाइने लाखौ टन चामलले यहाँको गरिबी शुन्य हुन्थ्यो । जमरा उमारिएका विउहरुबाट अन्न फलाई अनिकाल टार्न सकिन्थ्यो । भारतबाट करौडौँको खसी ल्याउने पैसा बचत हुन्थ्यो । दशैँमा लगाई, खुवाई मा हुने भड्किला खर्चहरु यदि बचत गरिएको भए त्यसले ठूला गर्जो टारिन्थ्यो । दशैँलाई किन–किन त्यति राम्रो चाहीँ लिइदैन । त्यसैले गीतमा भनिएको होला ‛दशैँ हो की यो मेरो दशा ।’

  • निश्कर्ष : 

दशैँमा आधारित यी माथिका दुई कथाहरुसँगै केही कुरा पढेपछि अब हामीले निश्कर्षमा पुग्नै पर्छ । हुन त कुनै पनि कथा कदापि सत्य हुँदैनन् । कथिएका कुरा कथा हुन्छन् । तर ती कथा भने सत्यकथा भएको बताइन्छ । त्यसैले धर्मग्रन्थहरुमा उल्लेख भएको हिन्दुहरु विश्वास गर्छन् । त्यही विश्वासले सदियौँदेखि अन्य धर्मावलम्बीहरुलाई पनि जबर्जस्ती मनाउन लगाईएको देखिन्छ । अब, धर्मग्रन्थमा उल्लेखित कथाका आधारमा दशैँ मान्नु कति वैज्ञानिक हुन्छ ? अबको समाजले यसलाई कुन ढंगले स्वीकार्ने या नकार्ने ? यो हामी सवैको साझा सवाल हो ।
सदियौँदेखि राज्यले जातजातिमाथि जबर्जस्ती दशैँ थोपरेकै हो । तर, अहिले उनीहरुमा सकारात्मक विद्रोहरुपी चेतनाको ढोका खुलिसकेको छ । गैह्रहिन्दुहरुलाई दशैँ मान्ने या नमान्ने दुवै स्वतन्त्रता छ । र त उनिहरु इतिहासको आँगनमा टेकेर प्रश्न गरिरहेछन्,

  • हामीले अव पनि पशुको बद्य गरेर दशैँ किन मनाउनुपर्ने ?
  • रक्तरञ्जित पञ्जाले मुलढोकाको दायाँबायाँ भित्तामा मारको छाप किन लगाउने ?
  • तत्कालीन हिन्दु उच्च जातिका शाह र राणा शासकवर्गले गैह्रहिन्दु आदिवासी÷जनजातिहरुलाई हिन्दुकृत गर्न साम, दाम, दण्ड र भेद नीति प्रयोग गरी दशैँ पर्व लादेका होइनन् र ?
  • कथामा युद्धहरु देवदेवी र मान्छे खाने अनार्य राक्षसबीच भएको भनिएको छ । तर त्यो त्यस्तो नभई आप्रवासीमूलका आर्यगण र आदिवासी अनार्यबीच भएको जातीय र धार्मिक संघर्ष भएको कुरा लुकाउन मिल्छ ?
  • पृथ्वीनाराण शाहले वल्लो किरात र माझ किरातमा अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी, मुखिया भनी स्थानीय प्रशासनिक ऐजेण्ट तोके । भने पल्लो किरातमा लिम्बु सुब्बालाई ऐजेण्ट बनाए । त्यसपछि शाहले किरात प्रदेशमा किरातीहरुलाई पशुपंक्षीको मार हानी दशैँ मनाउन बाध्य बनाए । त्यसैले दशैँ मान्नुको अर्थ छैन भन्न नपाइने ?
  • जबर्जजस्ती लादिएको दशैको प्रतिवाद गर्ने धनकुटाका रिदामा र रामलीहाङ राईको हत्या गरियो । जंगबहादुर राणाको ठाडो आदेशमा हत्या भए लगत्तै त्यहाँका आठपहरियाँ समुदायमाथि पनि सेनाले घेराई राँगा, बोका काटेर भोज गरियो । र, जमरा, टीका लगाइदिई दशै मान्न बाध्य बनाइएको इतिहास बुझेपछि कसरी दशैँ मनाउनु ?
  • अस्तिसम्म गोर्खा दरबारबाट जमरा र फुलपाती बाजा गाजाका साथ नारायणहिटी दरबार ल्याइने परम्परा थियो । तसर्थ, दशैँ शाह बंशद्धारा गोर्खा राज्यको विस्तारसँगै किरात प्रदेशमाथि जबर्जस्त लादिएको स्पष्ट भएपछि दशैँ कसरी राष्ट्रिय पर्व हुन्छ ?

इतिहासमा जे भएपनि अहिले देश गणतन्त्रमा प्रवेश गरेको छ । सवै जातजातिले एउटै फुलबारीमा फुल्न खोजिरहेछन् । तसर्थ दशैँको विरोध र बहिष्कार गर्नै परेन । यो मनाए पनि नमनाए पनि व्यक्तिगत स्वतन्त्रताको कुरा हो । दशैँको नाममा राज्यले अझै अतिक्रमण गर्न भने हुँदैन । राज्यले दशैँया विदा र पेश्कीको संस्कार चाँडै छोड्नुपर्छ । बरु सवै जातजाति, भाषाभाषीको चाडपर्वहरुलाई समान रुपमा सम्मान गरी हेर्ने बानीको विकास गर्नुपर्छ । यसले मात्रै सवै नेपालीको मन जोड्न सकिन्छ । र, नेपाल सवै जातिको साझा फुलबारी बन्न सक्दछ । राष्ट्रियता अझ मजबुत हुन सक्दछ । सारत ः भन्ने हो भने यहाँ कसैले पनि कसैकोे अपमानमा आफ्नो सम्मान खोजिरहेका छैनन् । बरु सबैको मानमा आफनो सम्मान खोजिरहेका हुन् । यसलाई राज्यले यथाशिघ्र सम्बोधन र व्यवस्थापन गर्ने सामथ्र्य राख्नुपर्छ । आम जाति–जनजातिहरुको चाहना र अपेक्षापनि यहि नै हुनुपर्छ ।