‛मजदुरहरुले पेशेवर राजनीतिज्ञमाथि भरोसा गर्नु हुँदैन’ – कार्ल माक्र्स

कला/साहित्य विचार

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’का सम्वाददाताले कार्ल माक्र्ससँग लण्डनस्थित उनकै निवासमा अन्तर्वाता लिएका थिए । उक्त अन्र्तवार्ता प्रकाशन भएपछि त्यतिबेलाका ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियन दुवैलाई ठूलो झड्का लागेको थियो । उक्त अन्र्तवार्ता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । तसर्थ तिनै अभिव्यक्तिको सम्पादित अंश :

  • श्रमका साधनहरु समाजको सार्वजनिक सम्पति 

समाजवादी आन्दोलनको उद्धेश्य श्रमका साधनहरुलाई समाजको सार्वजनिक सम्पतिको रुपमा फेर्नु नै हो । यो आन्दोलनको परिणाम हो । तर त्यसका लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरुको जरुरत हुनेछ ।

  • बर्गीय मुक्तिका लागि समाजवाद

समाजवादी आन्दोलनको उद्धेश्य मजदुरवर्गको प्रभुत्व कायम गर्नु नभई मजदुरवर्गको मुक्ति नै हो ।

  • समाजवादको योगदान

समाजवादले अहिलेसम्म दुइटा कुरा भएका छन् । समाजवादीहरुले पूँजी र श्रमको व्यापक संघर्षको बाटो देखाएका छन् । अर्थात् त्यसलाई विश्वव्यापी बनाएका छन् । यसैको फलस्वरुप संसारभरका मजदुरहरुबीच एकताको विचार जन्मिएको छ । र, विचार अहिले अरु बढी आवश्यक भएको छ किनकि पूँजीपतिहरुले मजदुरको बहालीमा संसारभरका मजदुरहरुमाथि आँखा लाउन थालेका छन् । अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स र जर्मनीका पूँजीपतिहरुले समेत स्वदेशी मजदुरहरुविरुद्ध विदेशी मजदुरहरुलाई उपयोग गर्न थालेका छन् । यसबाट के सावित भयो भने समाजवाद कुनै स्थानीय समस्या होइन रहेछ । र, यसको समाधान त संसारभरका मजदुरहरु एक भएर गर्नुपर्ने रहेछ । मजदुवर्ग आफनो आन्दोलनका उद्धेश्यहरुको बारेमा ज्ञान नहुँदानहुँदै पनि आफसे आफ लगातार अगाडि बढीरहेको छ । समाजवादीहरुले त आन्दोलनको चरित्र र उद्धेश्य बताउने काम गरेका हुन ।

  • अमेरिकामा समाजवादको उदय

अमेरिकी मजदुर आन्दोलन त्यो देशको विकासको स्वभाविक परिणाम हो । के पनि भनिन्छ भने त्यहाँ विदेशीहरुद्धारा बाहिरबाट आन्दोलन ल्याइएको हो । तर, जब बेलायतमा मजदुर आन्दोलनको रुप जुझारु हुन थाल्यो तब त्यहाँ पनि त्यस्तै भनिएको थियो र यो कुरा समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको हो । अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर यूनियनहरु फल्न–फुल्न थाले । त्यसपछि त्यस्ता मजदुरसभाहरुको निर्माण हुनथाल्यो, जसबाट विभिन्न उद्योगहरुमा काम गर्ने मजदुरहरुबीच एकता कायम भयो । र, अन्त्यमा राष्टिय मजदुर संघको स्थापना भयो । यसरी विदेशीहरुको मद्धतबिता नै अमेरिकामा समाजवाद पैदा भयो र त्यो पूँजीको केन्द्रिकरण तथा मजदुर एवं मालिकको बदलिंदो सम्बन्धका कारण संभव भयो ।

  • धर्मविरुद्ध कारबाही निरर्थक

हामीलाई थाहा छ, धर्मको विरुद्ध हिंसात्मक कारवाही गर्नु निरर्थक छ । समाजवादको विकास सँगसँगै धर्म गायब हुँदै जानेछ । र, धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । र यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।

  • क्रान्ति गर्ने पार्टीले होइन सिंगो राष्ट्रले

जुनसुकै क्रान्ति बहुमतद्धारा हुनेछन् । क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन, बरु सिंगो राष्ट्रले क्रान्ति गर्दछ ।

  • कपोलकल्पित पत्रको जवाफ

१८७१ मा पेरिसका कम्युनिष्टलाई मैले एक पत्र लेखेको भनियो । जसमा लेखिएको रहेछ–“अहिले हामी केवल ३० लाख छौँ, आउँदो २० वर्षमा ५ करोड वा १० करोड हुन्छौ, तब संसार हाम्रो हुनेछ, किनकि तब पेरिस, लियोंस, मारसेलिजमा मात्रै घृणित पूँजीको विरुद्ध हुने होइन, बरु बर्लिन, म्यूनिख, ड्रेसडेन, लण्ड, लिभरपूल, म्यान्चेष्टर, ब्रसेल्स, सेन्ट पीटर्सवर्ग, न्यूयोर्क अर्थात सम्पूर्ण संसारमा त्यस्ता विद्रोहहरु ह्ुनेछन् । अहिलेसम्मको इतिहासको यस अभूतपूर्व विद्रोहको सामुन्ने अतीत भयानक सपना जस्तै गायब हुनेछ, किनकि अनेक ठाउँमा एक्कैचोटी लगाइएको यो आगोले अतीतको आगोलाई भस्म गर्नेछ ।” तर यसको एउटा शब्द पनि मैले लेखेको होइन । म यस्तो अति नाटकीयताले भरिएका अनर्गल प्रलापहरु कहिलेपनि लेख्दिन । म जे जति लेख्दछु, अति नै धेरै सोचविचार गरेर लेख्दछु । त्यसबेला यो पत्र ‘ल फिगेरो’९फ्रान्सको एउटा अखबार० मा मेरो जाली हस्ताक्षरका साथ छापिएको थियो । त्यसबेला यस्ता सयौं पत्रहरु हावामा उडाइएका थिए । मैले त्यसबेला ‘लण्डन टाइम्स’मा लेखेको थिएँ–“ यी पत्रहरु जाली हुन ।” तर मेरो बारेमा जति धेरै झुठो प्रचार गरियो र असत्य लेखियो, यदि मैले ती सबै झुठहरुको खण्डन गरिरहेँ भने त्यसको लागि मलाई बीस जना सहायकहरुको जरुरत हुनेछ ।

  • समाजवाद अघिका रक्तपातपूर्ण इतिहास

आजसम्म कुनै पनि महान आन्दोलन विनारक्तपातपूर्ण शुरु भएको छैन । अमेरिकाको स्वतन्त्रताको लागि रगत बग्यो । नेपोलियनले रक्तपातकै माध्यमबाट फ्रान्समाथि कब्जा गरे र त्यसरी नै उनको अन्त्य भयो । यदि हत्याकै बारेमा विचार गर्ने हो भने पनि यो कुनै नयाँ चीज होइन । ओर्सिनीले नेपोलियनको हत्या गर्ने प्रयास गरे, इसाइहरुले हत्या गरे, क्रामबेलको जमानामा प्यूरिटनहरुले हत्या गरे । र वास्तविकता के हो भने राजाहरुले जति हत्या गरे, त्यति त अरु कसैले पनि गरेका छैनन् । यी सबै हत्याराहरु वा हत्याका प्रयासहरु समाजवाद आउनुभन्दा अगावै भएका हुन् । आज यदि कसैले पनि राजकीय वा सरकारी व्यक्तिको हत्याको प्रयास गरेमा त्यसको जिम्मेवारी समाजवादको टाउकोमा थोपरीदिने चलन बढेको छ ।

  • अबको अवस्था, उन्नत सामाजिक व्यवस्था

हाम्रो विचारमा के छ भने, वर्तमान व्यवस्थामा एकातिर पूँजीपतिहरुको हातमा पूँजी र भूमि छ अनि मजदुरहरुसँग एउटा बजारमा बस्तुको रुपमा बँच्नका लागि श्रमशक्ति मात्रै छ । यो व्यवस्था पनि एउटा त्यस्तो ऐतिहासिक अवस्था हो, जुन समाप्त हुनैपर्छ र त्यसको ठाउँमा यो भन्दा बढी उन्नत सामाजिक व्यवस्था कायम हुनैपर्छ । हामीलाई थाहा छ– सबै ठाउँमा समाज वर्गहरुमा विभाजित छ । आधुनिक औद्योगिक देशहरुमा औद्योगिक साधनहरुको विकास सँगसँगै पूँजीपति र मजदुरवर्ग बीचको आपसी वैमनस्य पनि बढिरहेको छ । समाजवादीहरुको दृष्टिकोणमा वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्व विद्यमान छ । कैयौं देशहरुमा मजदुर यूनियनहरुको आधारमा राजनीतिक संगठनहरु पनि निर्माण भएका छन् । अमेरिकामा पनि मजदुरवर्गको आफ्नै एउटा पार्टी बनाउनु जरुरी छ । मजदुरहरुले अब पेशेवर राजनीतिज्ञहरुमाथि अरु बेसी भरोसा गर्न सक्दैनन् । सांसदहरु गुटबाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यवसाय भएको छ ।

प्रस्तुती : ई.किराती