‛सुर र तालको मेल र खेल नै संगीत’

कला/साहित्य समाचार
  • सुरेन्द्र नाछिरिङ

संगीत एउटा महासागर जस्तै हो । यसको बारेमा केही लेख्नु भनेको असहज कुरा हो । तथापी संगीतप्रति साधारण रुचि राख्ने संगीत प्रेमीहरुमा दिन–प्रतिदिन मोह बढ्दै जानु स्वभाविक हो । सर्वप्रथम त संगितहरुको मेरुदण्डको रुपमा शास्त्रीय संगीतलाई मान्नु पदंछ । प्रारम्भिक चरणमा कुनै पनि गीत–संगीतको सिर्जना गर्नुलाई शास्त्रिय संगितको राम्रो ज्ञान हुनु जरुरी छ । शास्त्रीय संगीतभित्र लय, सुर र तालहरुको गहिरो अध्ययन हुनुपर्छ । यस्तो संगीतभित्र विभिन्न पद्धती र रागहरु हुन्छन् । ति पद्धती र रागलाई बाँध्ने नियमहरुलाई दुई तरिकामा नामाकरण गरी अध्ययन गरिएको पाइन्छ । ति हुन (भारतखण्डे) अथवा उत्तरी संगीत पद्धति र (पलुष्कर) दक्षिण संगीत पद्धति । यस नियमभित्र बाँधिएर विभिन्न प्रकारका लय, सुर र तालहरु निकाल्न र खेल्न सक्नु नै एउटा कुशल संगीतज्ञको जन्मदाताको लक्षण हो ।

संगीतभित्र लय, सुर र तालमात्रै नभएर विभिन्न विधा, रचना र साहित्यको पनि समिश्रण भएकोले यस विधालाई सशक्त मानिन्छ । गायन, वाद्यन तथा नृत्य यी तीनवटै विधामा गायनलाई सर्वसम्मतिबाट सर्वश्रेष्ठ विधा मानिन्छ । किनकि गायनमा रचना र साहित्यको ठूलो भूमिका हुन्छ । शास्त्रिय संगीतको सुत्रमा बाँधिएर विभिन्न कालजयी गीत, गजल, भजन आधुनिक गीतहरुको सिर्जना गरिएका छन् । तर आजभोली पश्चिमी पाश््चात्य संगीतको क्रेज दिनानुदिन बढ्दै जानुले संगीतभित्र विकृति फैलिदै गईरहेको छ ।
संगीत एउटा मानवजाति मात्र नभएर अरु जीवजन्तुलगायत बोट विरुवाहरुमा पनि प्रभाव पार्ने औषधी हो । यो कुरा वैज्ञानिकहरुले प्रयोगद्धारा सिद्ध गरिसकेका छन् । संगीतमा आनन्द मिल्नुपर्दछ, त्यही हो संगीत ।

आजभोली अज्ञानतावश हामीलाई गीत गाउने हतार हुन्छ । संगीतको सामान्य ज्ञान नलिइकनै एल्वम निकाल्ने प्रवृति पनि देखिन्छ । पछिमात्रै संगीतबारे सिक्दै गरेका थुप्रै उदाहरणहरु देख्न सकिन्छ । स्वर कसैले मन पराइदिनु एउटा कुरा हो तर संगीत सिकेर नयाँ नयाँ संगीत सिर्जना गर्नु महत्वपुर्ण कुरा हो । यसका लागि संगीत सिक्ने र सिकाउनेहरुले सुर र तालको महिमा् बुझ्न र बुझाउनु आवश्यक देखिन्छ । किनकि सुर र तालको मेल र खेल नै संगीत हो । गाउन र बजाउन राम्रो नजानिएता पनि शास्त्रीय संगीत दुइ–चार वर्ष निरन्तर सुन्दा र बुझ्दा पनि संगीतको सही रसस्वदन गर्न सकिन्छ । संगीतमै लागेर केही गर्छु भन्नेहरुको लागि थोरै मात्र भएपनि ‛तानसेन’ नभए पनि ‛कानसेन’ बन्न सकियो भने प्रयासलाई सार्थक मान्न सकिन्छ । यसको लागि हार्मोनियममा सुर, ताल, लय र स्वरको निरन्तर अभ्यास गर्नु नै हो । यसको साथै यस क्षेत्रमा लाग्नु पुर्व आफ्नो स्वर क्षमता परीक्षण गर्न जरुरी छ ।

यो क्षेत्र अत्यन्त गाह्रो र संवेदनशील विषय भएकाले आर्थिक रुपले पनि निकै खर्चिलो हुँदै गइरहेको छ । समयको उतारचढावसँगै संगीत क्षेत्रमा लाग्नेहरुलाई प्रविधिले सकारात्मक र नकारात्मक तवरले पनि ओझेलमा पारेको छ । ठूलो लगानीमा एल्वम तथा भिडियो बनाइए पनि आम्दानी भनेसन्तोषजनक पक्कै छैन । कि त दाम नभएपनि नामको लागि मात्र हो । आर्थिक रुपमा सरल भएको खण्डमा लगानी राम्रै गरेर मिडियाबाट चर्चा कमाउनकै लागि भने धेरै समय नलाग्न सक्छ । तर कालजयी गीत, गजल, भजन, स्वदेशगान सिर्जना गर्न सकेमा उत्कृष्ट मानिन्छ । त्यतिवेला त्यो मिडियाको अस्भाविक चर्चाभन्दा बढी आनन्दित दिने कुरा हुन्छ ।

समयको परिवर्तनसँगै आधुनिकताले श्रोता–दर्शकहरुलाई आकर्षित गर्नु स्वभाविक हो । तर मिडियामा ठूलो रकम पेलेर गुणस्तरहिन संगीत प्रस्तुत गर्नु भनेको क्षणीक मात्रै हो । यसले कालजयी कुशल संगीत र कला फोकटमा मरिरहेको हुन्छ । तसर्थ, गीत–संगीत, नृत्यु र साहित्य विधालाई विश्वमा नरुचाउने सायद नहोलान् । र, यो क्षेत्रलाई विश्वमा प्राय ः धेरै मुलुकहरुमा मान–सम्मान र कानुनी मान्यता दिएर राष्ट्रको गहना मानेका छन् । तर नेपालमा भने गहना भन्ने नारा मात्र सिमित छ ।