सांसद क्षेत्र विकास कोषबाट सोलुखुम्बुमा २० वटा योजना छनौट

अर्थ प्रदेश

सोलुखुम्बु । संघीय सांसद क्षेत्र विकास कोषअन्तर्गत सोलुखुम्बुबाट २० वटा योजना छनौट गरिएको छ । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, पर्यटन पदमार्ग निर्माण, खानेपानी, मोटरेबल पुल, सिंञ्चाई योजना र भौतिक पूर्वाधारका योजना छनोट गरिएको हो ।

छनौटमा परेका योजनाहरुमा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिकेहुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि २० लाख, तिङ्ला संसारी डाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी अन्य गाउँपालिकामा छनौटमा परेका योजनाहरुमा लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धिकरण तथा संबद्र्धन योजनाका लागि १५ लाख, किबि खेती प्रबद्र्धनमा १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मत सम्भारमा १५ लाख, माप्यदुधकोशी गाउँपालिका अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा ९० लाख, वडा नं. ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा १० लाख र थालेम भूमेस्थान मर्मत वडा नं. ६ वाकुमा १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी थुलुङदुधकोशी गाउँपालिका अन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतीमा ६० लाख रकम विनियोजन गरिएको छ ।
सोताङ गाउँपालिका अन्तर्गत छनौटमा परेका योजनाहरुमा सभाहल निर्माणका लागि १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रबद्र्धनका लागि ट्रयाक ओपनमा १० लाख विनियोजन गरिएको छ । त्यसैगरी महाकुलुङ गाउँपालिका अन्तर्गत वडा नं. ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा २० लाख, वडा नं. ५ योउ लुबुम मन्दिर भवन निर्माणमा १० लाख र वडा नं. १ को हिमचुली सामुदायिक भवन निर्माणमा १० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले बताए ।
नेचासल्यान गाउँपालिका अन्तर्गत छनौट भएका योजनाहरुमा खहरे मुहान श्रीचौर देविस्थान डाँडाहुँदै केउरेनी चुहान सिंञ्चाई आयोजना वडा नं. २ का लागि १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं. ३, ४ र ५ का लागि २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिका अन्तर्गत वडा नं. २ मगर टोलमा पुल निर्माणका लागि १५ लाख रकम विनियोजन गरिएको अधिकृत राजभण्डारीले बताए । जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि ४ लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको छ ।
संघीय संसदका सदस्य हेमकुमार राई ‘सुरवीर’को अध्यक्षतामा जिल्ला समन्वय समिति सोलुखुम्बुको कार्यालयमा बसेको बैठकमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतको उपस्थिति रहेको थियो । बैठकमा जिसस प्रमुख वीरकुमार राई, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा लगायत सात वटै गाउँपालिकाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।