जिमी (राई) उत्थान समाज सोलुद्वारा आयोजित छैठौं किरात भाषिक कविता बाचन तथा चित्र कार्याशाला सम्पन्न

देश फोटो फिचर समाचार

सन्देशबाहक रिपोर्टर, काठमाडौं : जिमी (राई) उत्थान समाज सोलुद्वारा आयोजित छैठौं किरात भाषिक कविता बाचन तथा चित्रकला कार्याशाला कार्यक्रम काठमाण्डौको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा काठमाडौंमा सम्पन्न भएको छ ।

किरात खालिङ राई उत्थान संघ, अर्जुन खालिङ फाउण्डेशन, किरात बाहिङ मुलुखिम, थुलुङ राई उत्थान प्रतिष्ठान लगायतका संस्थाको सहआयोजना रहेको उक्त कार्यक्रम यूवा कवि विमला तुम्खेवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रममा क्रमशः खालिङ भाषा–८, थुलुङ भाषा–६, बाहिङ भाषा–६ र सुनुवार भाषाको–१ वटा गरी जम्मा २१ वटा मातृभाषाका कविताहरु वाचन गरियो भने चित्रकला कार्यशालामा १४ वर्षभन्दा कम उमेरका २६ जना बालबालिकाहरुले “मेरो संस्कृति” शिषार्थमा चित्रकला प्रदर्शन गरेका थिए ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कवि तुम्खेवाले – “भाषा नभए मान्छेको अस्तित्व समाप्त हुने” बताउनुभयो । कुनै पनि भाषा बचाउने एउटा सशक्त माध्यम भनेकै साहित्य क्षेत्र एक रहेको बताउदै यस जिमी (राई)ले भाषिक रचनाहरु वाचन गरेर आफ्नो दीर्घकालिन महत्वमाथि विशेष योगदान पु¥याउने काम गरेको बताउनुभयो । जसले गर्दा यस्ता कार्यक्रमहरुको आयोजना गर्नाले यूवाहरुलाई सिर्जनशिल बनाउनुका साथै आफ्नो भाषा र संस्कृतिप्रति उत्प्रेरित हुने कवि तुम्खेवाको भनाई थियो ।

जिमी (राई) उत्थान समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राईले हाम्रो आपसी भावनात्मक एकता गर्दै भाषा, संस्कृति र पहिचान प्रवद्र्धनका लागि सशक्त जागरण ल्याउनका लागि वार्षिक रुपमा समाजले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो । यो कार्यक्रम पहिलो चरणदेखि छैठौं चरणसम्म आइपुग्दा कार्यक्रमप्रतिको आकर्षणमा सहभागीहरुको संख्या हेर्ने गर्ने हो भने गुणात्मक रुपमा बढेको बताउँदै अध्यक्ष राईले आगामी दिनमा समय सापेक्षा यस कार्यक्रमलाई थप आकर्षित गर्नका लागि पुरस्कृत गर्दै सबै भाषिक संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभयो ।

चित्रकला कार्यशालामा सहभागिहरुबाट प्राप्त चित्रहरु अर्जुन खालिङ फाउण्डेशनमा राखिने छ । कार्यक्रमकै बीचमा सो चित्रहरु समाजका अध्यक्ष यस बहादुर राईले फाउण्डेशनका अध्यक्ष मानबीर राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी मातृभाषाका रचनाकार, चित्रकारहरु सबैलाई कार्यक्रमको अन्त्यमा प्रमाण-पत्र प्रदान गरियो । सो लेख रचनाहरु समाजको आगामी वार्षिक मुखपत्र “प्रवाह” मा प्रकाशन गर्ने कार्यक्रमका समयोजक रामरतन राईले सन्देशबाहकलाई बताउनुभयो ।