साइकलमा सामान बेचेर दाइले डाक्टर बनाएका भाइ

देश

मानिसले जीवनमा अनेक सुख-दुख भोगेकोे हुन्छ । ति भोगाइहरु शब्दमा उतारिए ठूला–ठुला पुस्तक बन्छन् । तर कमै व्यक्ति जो खुल्ला किताब जस्तै बाँचेका हुन्छन् । यस्तै खुल्ला किताब नै हुन् डा.अरुण गुप्ता पनि । चौतिसौँ वसन्त पार गरेका गुप्ताको जन्मघर उदयपुर बेलटारको आफ्नै इतिहास छ । साथै उनका अध्ययनको संघर्षसँगै अघि बढेका जिवनका कथा निकै रोचक छन् । उनै गुप्ताका जीवनको कथा र व्यथाको यात्राबारे सन्देशवाहकका लागि पुर्ण कुमार राइले तयार पारेको सामग्री :

बाल्यकालको सम्झना
डा. गुप्ताको बाल्यकाल उदयपुरको बेलटारमै बित्यो । पहाडबाट झरेका भरियाहरुले गर्दा हफ्ता को २ दिन नुनको व्यापार हुन्थ्यो । यसैले परिवारको जीविकोपार्जन हुने गर्दथ्यो । बुधबार र बिहिबार पसलमा निक्कै भिड हुनाले बुवालाइ ब्यापारमा सघाएको क्षण सम्झिन्छन्, गुप्ता ।

अध्ययनमा मासिक शुल्कले समस्या
डा. गुप्ताकोआमा उषादेवी छोरालाई अंग्रेजी विद्यालयमा पढाउन चाहन्थे । त्यसैले पनि गुप्ताको औपचारिक अध्ययन बेलटारकै एक अंग्रेजी विद्यालयबाट आरम्भ भयो । गुप्ता जेहेन्दार भएकाले प्रथम श्रेणीमा पास हुँदै गए । तर उनी कक्षा ३ मा पुगेसँगै घरको आर्थिक अवस्थाले उनको पढाइ धान्न नसक्ने स्थिति बन्यो । त्यतिबेला उनको मासिक अध्ययन शुल्क रु.१२० थियो । त्यसपछि गुप्ता आफैले बुवालाई आफु सरकारी विद्यालयमा अध्ययन गर्ने सुनाए । अन्तत : बुवा सहमत भएपछि उनी गाउँकै श्री ज्योति मा.वि कक्षा ५ मा भर्ना भए । उनले त्यहाँ छात्रवृति पाएपछि झनै अध्ययनमा मेहनतका साथ लागिपरे ।

एसएल्सीमा फस्ट
डा. गुप्ता आमाको प्रेरणाका कारण पढाइमा जेहेन्दार थिए । उनले ज्योति मा। वि बेल्टारबाट २०५८ मा एसएल्सी फस्ट डिभिजन गरे । यो विद्यालय, समाज र परिवारको लागि गौरबको विषय थियो । आजभोली उनी आफुलाई अध्यापन गर्ने गुरुहरु रवि सर, राज कुमार ओझा, तनुक लाल सर, भरत झा, रमाकान्त सर, टंक गुरागाइ सर र अन्य सबै शिक्षकहरु लाई निक्कै आदरभावले मिस गरिरहन्छन् ।

काठमाण्डौको सुरुवाती दिन
डा.गुप्ता एसएलसीपछि अध्ययनका लागि काठमाडौँ आउदाको दिन खुब सम्झन्छन् । उनी भन्छन्–‘म साइन्स पढ्न भनेर अमृत साइन्स कलेजमा गएँ, तर बुवाले त्यहाँ राजनीति निक्कै हुन्छ भनेर निजि कलेजमा भर्ना गरिदिनु भयो । त्यहाँ मैले छात्रवृति पनि पाए ।’

भाइको अध्ययनमा दाइको दुख 
काठमाण्डौको महंगी यही हो । डा. गुप्ताको अध्ययनमा पनि महंगीले निकै सकस पैदा गर्यो । तैपनि दाई अरविन्द गुप्ताले खर्च जुटाइदिएका कारण उनको अध्ययन सहज भयो । गुप्ताका दाई भाइलाई डाक्टर बनाउन भनेर बेल्टार वरपरका बजारमा साइकलमा सामान राखेर बेच्थे । र, भाइको अध्ययनका लागि खर्च जुटाइदिन्थे । दाइको त्यो मिहिनेत देखेर पनि गुप्तालाई पढाइप्रति अझ संघर्ष गर्ने प्रेरणा मिल्यो ।

उनी भन्छन्– ‘दाईको त्यो मिहिनेत हेरेर मलाई पढाइप्रति अझ संघर्ष गर्ने प्रेरणा मिल्यो, यसैकारण मैले कक्षा ११ मा कक्षा टप गरे । र कक्षा १२ का लागि मलाई फुल स्कोलरसिपमा अध्ययनको मौका मिल्यो । यसपछि मैले १२ पनि बायोलोजी ग्रुपमा कलेज टप नै गरे ।’

डाक्टर बन्ने चाहना  
डा.गुप्ताले डाक्टर बन्ने चाहनाले पहिलो पटक बि.पी कोइराला विज्ञान प्रतिष्ठानको इन्ट्रान्स परिक्षा पनि दिए । तर एम.बि.बि.एसको परिक्षामा नाम निकाल्न भने सफल भएनन् । तर ‘ब्याच्युलर इन मेडिकल इमेजिंग टेक्नोलोजी’ कोर्समा उनको छात्रवृति निस्कियो । उनले त्यही भर्ना भएर पीएचडीसम्मको अध्ययन पुरा गर्ने अठोट लिए । यसरी बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उक्त विषयमा स्नातक पनि गरे ।

गुप्ताले भारतको नयाँ दिल्लीस्थित ‘अल इण्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस’(एम्स)बाट न्युक्लियर मेडिसिन विषयमा छात्रवृति पाए । र, सो विषयमा स्नात्तकोत्तर टप गरे । यसरी डा.गुप्ताले एम्समा गरेको पेटरसिटिसम्बन्धि अनुसन्धानको सोधहरु अन्तराष्ट्रिय कन्फेरेन्सहरुमा छनौट समेत भएका थिए ।

जागिरे हुँदाका क्षण 
डा.गुप्तालाई बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रेडियोलोजी बिभागमा जागिरको अफर आयो । उनको दक्षताको निक्कै आवस्कयता भएको हुनाले उनलाई त्यहाँ जागिर को अफर आएको थियो । उनले पनि आफ्नै देशको सेवा गर्ने भावले भारतको निक्कै सुबिधा सम्पन्न जगिरहरुको अफर छोडेर नेपाल आए । तर बिडम्बना उनलाई जुन पद (एसिस्टेन्ट प्रोफेसर) को लागि बिज्ञापन गरेर बोलाइएको थियो, त्यो पद नदिएर त्यस भन्दा तल्लो पदमा राखियो । यसले उनलाई मानसिक पिडा दियो । उनी भन्छन्–‘जब मलाई एसिस्टेन्ट प्रोफेसरका लागि वि.पी कोइराला विज्ञान प्रतिष्ठानमा बोलाइयो तर पछि त्यो भन्दा तल्लो पदमा जागिरे हुन बाध्य बनाइयो ;यसले मलाई निकै मानसिक पिडा दियो ।’

संघर्षका उपलब्धिहरु : 

  • एम्समा गरेको अनुसन्धानको को सोधहरु प्रस्तुत गर्नका लागि २०१४ मा जापान र वियेतनामबाट ट्राभल ग्रान्ट पाएका थिए ।
  • जापानमा ‘योङ्ग इन्भेस्टिगेटर एवार्ड’ पनि पाए ।
  •  २०१५ मा उनले दक्षिण कोरियाको सबैभन्दा ठुलो विश्वविद्यालय ‘सोल नेसनल युनिभर्सिटीको कलेज ओफ मेडिसिनमा न्युक्लियर मेडिसिन’ विभागमा पीएचडी गर्नको
    लागि छनौट भए ।

  •  करिब ५ वर्षपछि प्रतिष्ठानमा उनको एसिस्टेन्ट प्रोफेसर पदमा प्रोमोशन हुने भएकाले बिज्ञापन अनुसार उनले दरखास्त हाले । अन्तरबार्ताबाट उक्त पदमा उतिर्ण पनि भए ।
  •  बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट अध्ययनबिदा लिएर पीएचडी गर्न कोरिया गए । उनी त्यहाको सबैभन्दा ठुलो पीएचडी फेलोसिप अवार्ड (प्रेसिडेन्ट फेलोसिप) जित्ने पहिलो नेपाली पनि बने ।
  • एसियाकै टप ‘सोल नेसनल युनिभर्सिटी’को ल्याबमा बिश्व विख्यात प्रोफेसरहरुसंग बसेर अनुसन्धान गरे ।
  • पीएचडीसँगै उनले आफ्नो अनुसन्धानको सोधहरु प्रस्तुत गर्न २०१७ मा अष्टेलिया गए । भने २०१८ मा अमेरिकाको फिलेदेल्फिया जाने अवसर मिल्यो । उनले दिनरातको मेहनतले ३ वर्षमै पीएचडी सकी नेपाल फर्के ।

आफ्नै देश प्यारो
उनलाई कोरिया तथा युरोप र अमेरिकाबाट रिसर्चको लागि निक्कै ठुला अवसरहरु आए । तैपनि उनले आफुले हासिल गरेको ज्ञान सिप नेपालमै रहेर नेपालीका लागि प्रयोग गर्ने अठोटसहित नेपाल फर्किए ।
उनि न्युक्लियर मेडिसिन को नयाँ प्रबिधिबाट क्यान्सरको परिक्षण तथा उपचारसम्बन्धि बिषयमा पीएचडी गरेर नेपाल फर्किने पहिलो नेपाली हुन् ।

उनको नेपाल फर्किने मनसाय देखेर कोरियामा रहेका प्रवास संगठनहरु (उदयपुर सेवा समाज, मधेसी समाज, कोरिया) ले भब्य सम्मानका साथ बिदाइ कार्यक्रम आयोजना गरेका थिए । डा.गुप्ता निक्कै उत्साह र उमङ्गका साथ पीएचडी सकेर नेपाल फर्किएका थिए ।

उमंगसँगै थपिएको गुनासा 

उनले नेपाल आएपछि निक्कै मानसिक यातना सहनु परेकोछ । अध्ययन बिदा सकेर वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाजिर भएपछि नियमपुर्वक पाउनुपर्ने पद र सुबिधा उनले पाएनन् । यसले उनलाई चरम मानसिक यातना दियो । बिदेशका अवसरहरु छाडेर नेपालमा नै सेवा गर्ने भावना बोकेर आएका डा. उनलाई देशले सम्मान गरेको तर प्रतिष्ठानले अन्याय गरेको डा.गुप्ता बताउँछन् । ‘नियमपूर्वक निर्णय भैसकेको पद र सुबिधा नदिएर म माथि अन्याय गरिएको छ ।’ न्युक्लियर मेडिसिनसंग सम्बन्धित एक्लो पी.एच.डी. डा.गुप्ता आफु नेपाल फर्किएर इन्टरनेसनल कोलाब्रेसनमा क्यान्सरसम्बन्धि अनुसन्धानहरु गरौला भन्ने सोचेको बताउँछन् । र, देशमा यस बिषयसंग सम्बन्धित नीति नियम बनाउने कार्यमा सहयोग गर्न विदेशको अवसरहरु छाडेको सुनाउँछन् । तर अहिलेको अवस्था सुनाउँदै उनि भन्छन्– प्रतिष्ठानले झन् सम्मानजनक वाताबरण बनाएर बढी भन्दा बढी लाभ लिनुपर्ने अवस्थामा उल्टै मलाई मानसिक पिडा दिनु समग्र देशकै लागि दुखद कुरा हो ।’