‘नेपाल भ्रमण वर्ष, २०२०’ मा सरकारको अर्जुन दृष्टि: चीनसँग गरियो नयाँ हवाई सम्झौँता

अर्थ देश पर्यटन समाचार

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गरेको छ । नेपाल र चीन सरकारबीच सातामा ९८ वटा उडान गर्न पाउने गरी नयाँ हवाई सम्झौता पुनरावलोकन गरिएको हो ।

दुई सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएसँगै अब हप्तामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० वटा, पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिएका हुन् ।

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति गरिएको थियो। सन् २०१४ मा भएको नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा सञ्चालन भइरहेको छ । दुई देशबीचको उक्त हवाई सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउने सहमती भएको छ । यसअघिको सम्झौतामा ७ सहरमा मात्र उडान हुँदै आएको थियो। हाल आठ सहरबाट उडानको आरम्भ भएको छ ।

हाल नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति पाएको अवस्था छैन । तर, पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले यात्रुका निम्ति नेपाल उडान भरिरहेका छन् । अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारीमा रहेका छन्। तर, उडानअघि चीनले नेपाल वायुसेवा निगमलाई ‘सेफ्टी अडिट’ को विषय अघि बढाएको छ । सो विषयमा सहमती भएपछि मात्र उडान अघि बढ्नेछ भने हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ।