६० प्रतिशत जनसंख्या मुस्लिम समुदाय भएर पनि किन जम्मु–कस्मिर पाकिस्तानको बन्न सकेन ?

प्रवास विश्व समाचार

विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो। वेलायतबाट स्वतन्त्र भएदेखि नै कस्मिर, भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ। सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट मुक्त भएका थिए। भारत प्रशासित कस्मिर र पाकिस्तन प्रशासित कस्मिर अलवा यसको एक हिस्सामा चीनको समेत नियन्त्रण छ।

यो सबैभन्दा लामो समय द्वन्द्व चलेका विश्वका भूभागमध्ये एक हो।

२०१९ फेब्रुअरी १४ मा भारतीय सेनामाथि आत्मघाती आक्रमण हुँदा ४० सेना मारिए। यस्ता आक्रमण जम्मु-कस्मिर बेलाबेला भइरहन्छन्। भारतले ती आक्रमण पछाडि पाकिस्तान समर्थित आतंकवादी समूहको संलग्नता रहेको बताउँछ। ती समूहहरु कस्मिरलाई भारतबाट अलग पारेर पाकिस्तानसँग गाभ्न चाहन्छन्। पाकिस्तानले त्यस्ता आरोपहरुको सधैँ खण्डन गर्दै आएको छ। यो आरोपहरुको स्वतन्त्र पुष्टि गर्न सहज छैन।

यही विवादको श्रृङ्खलामा सन् २०१९ अगस्ट ५ अर्थात् आजदेखि नयाँ अध्याय थपिएको छ। भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरलाई दिँदै आएको विशेष राज्यको हैसियत खोसेको छ। अब भारत शासित जम्मु–कस्मिरको सो भूभागमा दुई प्रदेश जम्मु–कस्मिर र लद्दाख रहनेछन्।

अहिलेसम्म जम्मु कस्मिरको छुट्टै संविधान रहेको थियो। उसलाई सुरक्षा र विदेश मामिला बाहेक सबै फैसला लिने अधिकार थियो। स्वतन्त्र जम्मु–कस्मिरको अधिकार अब समाप्त भएको छ। जम्मु–कस्मिरमा भारत हाबी भएको छ।

भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हु्न्। यदि दुवै देश युद्धमा गए यसको परिणाम निकै नराम्रो हुनेछ। कस्मिरलाई लिएर पाकिस्तान र भारतबीच संघर्ष भइरहँदा त्यहाँका स्थानीय जनता चपेटामा छन्।

के छ कस्मिरको इतिहास ?
भारत र पाकिस्तानबीच सन् १९४७ र १९६५ मा दुईपटक युद्ध भएको थियो। त्यसयता कस्मिरमा कैयौंपटक विस्फोटन तथा आक्रमण भएका छन्। त्यहाँ राजनीतिक अवस्था अस्थिर छ। अर्थव्यवस्था नाजुक छ। बेरोजगारी समस्या अधिक छ।

सन् १९४७ मा वेलायतबाट स्वतन्त्र भइसकेपछि कस्मिर कुन देशसँग मिल्ने भनेर छलफल भएको थियो। कस्मिरका राजालाई भारत र पाकिस्तानमध्ये एउटा छान्नुपर्ने अवस्था थियो। अन्ततः उनले भारतलाई छाने तर मुस्लिम बहुल जम्मु-कस्मिरका जनता पाकिस्तानतिर लागे। विश्वमा नयाँ बनेका यी देशबीच त्यसबेला दुई वर्ष लगातार युद्ध भयो।

युद्धविराम गर्ने सहमति भएपछि पनि पाकिस्तानले आफ्नो सेना कस्मिरबाट फर्काउन अस्वीकार गर्यो। त्यसपछि कस्मिर दुई भागमा विभाजित भयो। सन् १९५० को दशकमा भारत र पाकिस्तानबीच चर्को मतभेद रह्यो। चीनले त्यसको फाइदा उठाउँदै पूर्वी कास्मिरमा विस्तारै–विस्तारै नियन्त्रण लियो। अहिले यो क्षेत्रलाई अक्साई चीन भनिन्छ।

भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो। सन् १९८० र १९९० को बीचका भारतीय शासनविरुद्ध कस्मिरमा वृहत विरोध प्रदर्शन भए। त्यसपछि कस्मिरमा पाकिस्तान समर्थित चरमपंथी समूहको प्रभाव बढ्यो। सन् १९९९ मा भारतले पाकिस्तान समर्थित सैन्य शक्तिविरुद्ध लडाइँ लड्यो। त्यतिबेला दुवै देशले आफूलाई परमाणु शक्ति घोषित गरिसकेको थिए। त्यसयता कस्मिरमा हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

भारतले अस्वीकार गरेको थियो राष्ट्रसंघीय जनमतसंग्रहको निर्णय
सन् १९५० को दशकमा संयुक्त राष्ट्रसंघले कास्मिरको जनताको विचार बुझ्नका लागि त्यहाँ जनमत संग्रह गर्नुपर्ने धारणा राख्यो। भारतले सुरुमा यो विचारलाई समर्थन गरेको थियो। जनमत संग्रहकै कारण जम्मू–कास्मिर भारतबाट स्वतन्त्र हुने खतरा देखिएपछि पछि भारत अघि बढेन। पाकिस्तान जनमतसंग्रह पक्षमा छ।

पाकिस्तान कस्मिरको अत्यधिक जनसंख्या भारतीय शासनविरुद्ध रहेको ठान्छ। ‘उनीहरु कि स्वतन्त्र हुन चाहान्छन् कि पाकिस्तानसँग मिल्न चाहान्छन्’, पाकिस्तानले भन्दै आएको छ। कस्मिरका ६० प्रतिशत जनसंख्या मुस्लिम समुदायको छ। यो मात्र भारतको एउटा त्यस्तो क्षेत्र हो जहाँ मुस्लिम धर्मवालम्बी धेरै छन्। (बीबीसीसहित अन्तरार्ष्ट्रिय सञ्चार माध्यमबाट अनुवाद)