आजका पत्रपत्रिका शिर्षक : नेकपाको कार्यालय सरकारी जग्गादेखि निगमको घाटा ५ अर्ब २१ करोड

देश पत्रपत्रिका समाचार

काठमाडौं । आजका दैनिक पत्रिकाहरुमा भारतको जम्मु कश्मिरको विशेष अधिकार खारेजलाई मुख्य प्राथमिकता दिएका छन् । कान्तिपुर दैनिकमा भने नेपालकै ब्यानर समाचार छ । कान्तिपुरले ‘नेकपाको कार्यालय सरकारी जग्गामा’ शिर्षकमा प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उल्लंघन गर्दै सरकारी जग्गामा भवन निर्माण गरी पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको समाचार लेखेको ।समाचारमा लेखिएको छ, ‘भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन ।’

समाचार नेकपाका पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको बताएका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार प्रतिष्ठान सञ्चालनका लागि २०६३ मंसिर २१ गते सरकारी स्वामित्वको उक्त जग्गा भोगाधिकारका लागि दिइएको थियो ।

निगम घाटामाः ५ अर्ब २१ करोड नाघ्ने

कान्तिपुर दैनिकमा सुरज कुँवरले नेपाल वायुसेवा निगम ५ अर्ब २१ करोड घाटामा गएको समाचार लेखेका छन् । आर्थिक वर्ष २०७५÷७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले २०७५÷०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड रुपैयाँ नाघ्ने जनाएको छ ।

सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानी) ले आर्थिक वर्ष ०७४÷७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको समाचार लेखेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३÷०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

गरिबको पहिचान हुँदै
गोरखापत्र दैनिकले सरकारले गरिब परिवार पहिचानका लागि दोस्रो चरणको तथ्याङ्क सङ्कलनको काम पुनः सुरु गरेको समाचार लेखेको छ । २०६९ सालमा २६ जिल्लामा गरिब परिवार पहिचानको काम भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जा जिल्लाबाट दोस्रो चरणको तथ्याङ्क सङ्कलनको उद्घाटन गरे । दोस्रो चरणमा १२ जिल्लामा तथ्याङ्क सङ्कलन सुरु भएको छ ।

ताप्लेजुङ, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेलधुरा र दार्चुलामा तथ्याङ्क सङ्कलन सुरु भएको छ । तथ्याङ्क सङ्कलनका लागि चार महिनाको समय तोकिएको छ । गणक र सुपरिवेक्षकलाई तालिम दिएर तथ्याङ्क सङ्कलनमा खटाइएको छ ।

खैरेनीघाटको पुल कहिले बन्छ?
नागरिक दैनिकले आज यो समाचार छापेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ? स्थानीयको प्रश्नलाई उनले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो । तर उनले आश्वासन दिएका थिए । आइतबार त्यही पुल उद्घाटन हुँदा जनता मात्र होइन, जनप्रतिनिधि नै खुसी थिए ।

पुल बनेपछि अब दोरम्बा सीधै काठमाडौँसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘दिनभरिको बाटो अब ओहोरदोहोर नै गर्न सकिने भएको छ ।’