लोकसेवाको असमावेशी विज्ञापनविरुद्ध सिंहदरबार घेर्न गएका ११ जना आदिवासी आन्दोलनकारी पक्राउ

देश फोटो फिचर समाचार

काठमाडौं । लोक सेवा आयोगलाई आरक्षण सुनिश्चित हुने गरी विज्ञापन पुनः प्रकाशित गर्न माग गर्दै विरोधमा उत्रिएको नेपाल आदिवासी जनजाति महासंघले आइतबार भव्य विरोध प्रदर्शन गर्यो । संविधानप्रदत्त समानुपातिक समावेशी सिद्धान्तको सुनिश्चितता गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा भद्रकालीमा विरोध प्रदर्शन गर्दै सिंहदरबारतिर अघि बढ्दा ११ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा कोचेको छ ।


भद्रकालीबाट सिंहदरबारतर्फ नाराबाजी गर्दै अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। अहिले उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको जनाइएको छ ।

सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा लोकसेवाको विज्ञापनविरुद्ध पुनः विज्ञापनको आह्वान गर्न आन्दोलनकारीहरु भेला भएका थिए । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै उनीहरुले आरक्षण बचाउनका लागि आन्दोलन आयोजना गरेका थिए ।

साथै, आन्दोलनको कार्यक्रम सिंहदरबार घेराउ रहेको थियो । आन्दोलनकारीको माग संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्तअनुरुप पुन विज्ञापन निकाल्नुपर्ने रहेको छ ।