मन छुने ‘नानातायामा’ गीत बजारमा (हेर्नुहोस् भिडियो)

कला/साहित्य देश भिडियो समाचार

किरातीहरुको संस्कृतिमा आधारित गीत सार्वजनिक भएको छ । तायामा, खियामा र हेच्छाकुप्पा । यी माइती चेली तिनै हुन्, जस्लाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मानिन्छ । यहिँ किराती मिथकमा आधारित रहेर ‘नानाताया’ बोलको गीत युट्युबमा शुक्रबार सार्वजनिक भएको छ । रुपकुमार राई र राधा राईको स्वरमा दिनेश थापाले भरेको संगीतलाई भूपाल राईले शब्दमा साथ दिएका छन् ।

(वीरबहादुर) रोसुका राई (तायामा), अस्मिता राई (खियामा) र रामदीप राई (हेच्छाकुप्पा) को भूमिका रहेको भिडियोमा उनीहरुको प्रस्तुती बेजोड रहेको छ । भिडियो छायाँकन/निर्देशक युवराज राईले गरेका हुन् । गीतमा आफूलाई छाडेर गएको भन्दै भाईले दुवै दिदीहरुप्रति गुनासो पोखेका छन् । दुई दिदीहरुको असाध्यै प्यारो भाई हेच्छाकुप्पाको मृत्यु भयो भन्दै विलौना गर्दै छाडेर हिँडेपछिको कथालाई गीतमार्फत् व्यक्त गरिएको छ । पछि उनी भेट कसरी हुन्छ ? भन्ने विषयलाई पनि गीतमा सरल रुपमा चित्रण गरिएको छ ।

साकेला (उभौँली/उधौँली) लाई केन्द्रविन्दूमा राखेर छायाँकन गरिएको उक्त गीतमा आफूलाई कसरी बाल्यकालमा एक्लै छाडेर दिदीहरुले हिँडे भनेर भाईले दुःख पोखेका छन् । उनले आकाश धर्ती रुँदै/भकानिँदै दिदीहरुलाई खोजेपनि नभेटेको सुनाउँछन् । पछि भेटमा यी जम्मे कुरा गीतमार्फत् भाईले व्यक्त गरिएको छ । उत्कृष्ट छायाँकन गरिएको उक्त भिडियो मेरो अनलाईन टिभीको युट्युब च्यानलमार्फत् हेर्न सकिनेछ ।

को हुन्, तायामा, खियामा र हेच्छाकुप्पा ?
सृष्टिको आरम्भतिरकै कुरा हो पापा पातेसुङ र आमा दिलीदुमको मृत्यूपछि तायामा खियामा र हेच्चाकुप्पा टुहुरा भई चेलीहरूबाट बढो दुःखले माइती हेच्छाकुप्पाको लालनपालन हुन्छ। अर्काको जाँतोबाट सामल संकलनगरी पकाएको भात भाइले अन्जानमा घोप्ट्याएपछि दिदीहरूले भाइलाई कुट्छन्। भाइ रुँदारुदै निदाउँछ, उठाउँदा उठ्दैन। भाइ मरेको ठानी चिहान खनेर त्यसमा चिण्डो, केराको थाम र कालोपातीको झिक्रा प्रयोगगरी भाइकै पार्थिव शरीर गाडेरछेउमा एउटा केराको बोट रोपी एउटा कर्दसमेत छोडेर दिदीहरू बाटो लाग्छन् र अहिलेको तुवाचुङ्डाँडामा आईपुग्छन्। त्यहाँबाट पनि दिदी डाँफे भई भोट र बहिनी धनेश भई मधेश झर्छन्। हिड्न अघि मृत या जीवित थाहा पाउन एक एकवटा बावरी फूल रोप्छन। बहिनी चञ्चले भएकीले लाटकोसेरोले मारेर खान्छ र हाडहरू मात्र बाँकी राख्छ। पछि बहिनीको फूल मरेको देखी दिदीले बहिनीको हाडखुर जम्मागरी रिसीय गाएर ब्युँझाई सोही तुतुवाचुङ्डाँडामा कपडा बुन्ने घरेलु उद्योग स्थापना गरी बस्छन्।

यता हेच्छाकुप्पा निन्द्राबाट व्युँझदा दिदीहरू हुदैन। रोइकराई गर्छ तर दिदीहरू नआएकाले कर्द टिपेर केराको बोटलाई डर देखाएपछि केरा पसाएर पाक्छ र त्यसैलाई खान्छ। उ सिकारी बन्छ र तामेढुक्कुर पासोमा पार्छ। त्यसको गाँडबाट अन्नका बिजहरू फेलापारी त्यसलाई घुर्यानमा फाल्छ। पछि लहलह भएको अन्न फल्छ। त्यसैलाई संकलन गरी खेतीपाती गर्न थाल्छ र कृषक बन्छ। कहिले माछा मारेर खान्छ। त्यहीक्रममा उसको नागको छोरी सिक्रिमासंग विवाह हुन्छ। विवाह पश्चात उ अन्नको अझ धनी हुन्छ। एकदिन हेच्छाकुप्पालाई नयाँ अन्नको खाना खाएपछि मातलागेर विरामी पर्छन्। यसको कारण सिक्रिमाले ूतिमीले तिम्रो पुर्खाहरूलाई अर्पण नगरी खाएको हुनाले यस्तो भएको हो भन्छिन्। त्यस वर्ष त्यत्तिकै भयो। अर्को वर्ष उधौलीको समय आयो नयाँ अन्न घरमा भित्रियो। पुर्खालाई चढाउने बेला पनि आयो। तर कसरी चढाउने भन्ने ज्ञान हेच्छाकुप्पालाई नभएकाले सिक्रिमाकै सल्लाह अनुसार पुर्खाहरूलाई चढाउने व्यवस्था गरे।

नयाँ अन्न पोली पकाई चुल्हाको वरीपरी राखियो तर चेलीको अभावमा त्यो अपूर्ण हुने भएकाले चेलीहरू खोज्न विभिन्न जीवहरू(जुम्रा, उडुस, बाख्रा पठाइन्छ। तर सफल हुदैन। त्यसपछि उपिया पठाइन्छ। उपियाँ उफ्रदै गएर तायामा खियामालाई भेटी टोक्न थाल्छ। उपयालाई पक्रेर मार्न टाउको किच्याउँदा उपियाँ उछिटिएर भाग्छ र दुबोको त्यान्द्रोले टाउको बाँधी तायामा खियामा तुवाचुङ् डाडामा रहेको खबर दिन सफल हुन्छ। चिचिङ्धावासी पुर्खाहरू उपियाँ उफ्रदै गएको बाटो त्यही हो भनेर अहिले पनि चिनाउँछन। अन्त्यमा तायामा खियामा ल्याउन कुखुराको भाले तुवाचुङडाँडा पठाइन्छ। भाले त्यहाँ पुगेर तायामा खियामा खोक्चिलिपा (हेच्छाकुप्पा) भनेर बास्छ। मरेको भाइको नाम काढेर बासेको सुनी यसलाई अभास ठानेर तानको थुरी र बाइसुम (लठ्ठी) झिकेर भालेलाई झटारोले हान्छन्। झटारोले लागेपछि भालेको प्वाँख खस्ता उनीहरूले त्यसलाई थुरीमा राख्न मिल्छ भनी टिपेर बोक्छन। भाले जब गहिरा पस्छ बखान गाउँछ जब डाँडामा पुग्छ बास्न थाल्छ। एबं क्रमले भाले बास्ने, झट्टी हान्ने, प्वाँख खस्ने र प्वाँखलाई टिपेर बोक्ने काम क्रमैले हुँदै जान्छ र अन्तमा हेच्छाकुप्पाको घरमा आई पुग्छन। यता हेच्चाकुप्पाको घर भित्र पितापुर्खालाई अन्न चढाउने काम शुरु हुन लागेको हुन्छ।

उता भालेले पनि तायामा खियामालाई हेच्छाकुप्पाको घरमा उत्तिनैखेर ल्याई पुर्‍याउँछ। मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्छाकुप्पाले रिभम पारुहाङ् नायम हुदै पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुंगालाई भूमेदेव साकेन्वा/साकेला मानी पूजिन्छ।

भिडियो हेर्नुहोला: