कोर्ने फर्पिङमा, बेच्ने ठमेलमा

अर्थ कला/साहित्य देश फोटो फिचर समाचार

चित्रले आफैँमा आश्चर्य बोक्दछ । ‘एउटा चित्रले हजार शब्द बोल्दछ ।’ तर, यस्तो चित्र बनाउन कम दिमाग खर्चिनुपर्दैन । कस्तो खालको चित्र बनाउने रु चित्र कोर्नुपूर्व दिमागभित्र पूर्ण रुपमा चित्रको स्केच कोरिन्छ, त्यसपछि अपत्यारीलो तरिकाले हातले दिमागभित्र गढेको चित्रलाई क्यानभासमा कोरिन्छ । दिमागभित्रको चित्र बाहिर आएपछि त्यो असाधारण वस्तु (चित्र) बनिदिन्छ ।

सञ्चली तामाङ ‘लाकेश्वरी’, ४० । विगत २० वर्षदेखि उनी थाङ्का चित्र कोरिरहेका छन् । ४० वर्ष छिचोल्दै गरेका उनी स्कुले जीवनमा राम्रोसँग पढ्न पाएनन् । काभ्रेबाट काठमाडौं आएपछि थाङ्का कोर्न सिके । त्यतिबेला उनी २० वर्षका थिए । थाङ्का कोर्ने शिलशिलामा उनको विवाह भयो, फर्पिङ । काठमाडौंदेखि करिब साढे एक घण्टाको दूरीमा रहेको उक्त गाउँमा अहिले उनी थाङ्का कोरिरहेका छन् । शनिबार सञ्चलीको घरमा पुग्दा उनी थाङ्काको फ्रेम तयार पारिरहेका थिए । घरभित्र थाङ्का कोर्ने मसीका बट्टाहरु असरल्ल छरिएका थिए भने मान्छेजस्तै ठिङ्ग उभिएको एउटा थान्काको स्वरुप अन्तिम चरणमा पुगेको थियो । सायद, यो सकिएपछि फेरी अर्को बनाउनु परेकाले पनि होला र फागुनको अन्तिम जाडोको मधुरो घाममा बसेर उनी अरु थाङ्काको फ्रेमपनि तयार पारिरहेका देखिन्थे ।

सञ्चली भन्छिन्, ‘त्यतिबेला राम्रोसँग पढ्न पाइएन । त्यसपछि यतातिर लागियो । थाङ्कासँगै धेरथोर कृषिले घरजम चलेको छ । श्रीमान पनि विगत १७ वर्षदेखि यहिँ क्षेत्रमा हुनुहुन्छ ।’ सुरुमा काठमाडौं आएपछि ठमेलमा थाङ्का कोर्थे सञ्चलीले । त्यहिँ क्रममा श्रीमानसँग भेट भयो । उनीभन्दा तीन वर्ष पछि थाङ्का सिकेका श्रीमानसँग मिलेर ठमेलमै थाङ्का चित्र कोर्न थाले । तर, विभिन्न कारणवश हाल दुवैजना आफ्नै गाऊँ फर्पिङमै बसेर कृषि पेशासँगै थाङ्का चित्रमा अभ्यस्त छन् ।

सञ्चली भन्छिन्, ‘खटेर काम गर्ने हो भने एकजनाले मासिक ६० हजार कमाउन गाह्रो छैन । घरायशी कामकाज पनि सम्हाल्नुपर्ने चटारोले त्यति कमाई गर्न सकिँदैन । घर, परिवार धान्न र छोराछोरीलाई पढाउनु भने धौँधौँ परेको छैन ।’ अहिले दुवैले कृषिसँगै थाङ्का कोर्छन् । बाह्रैमासे चल्ने यो व्यवसायले छोरा (एक)  छोरी  (एक) र परिवारको घरजम गर्न कठीनाई परेको छैन । हाल दुवै छोराछोरी प्राथमिक तहमा अध्ययनरत छन् ।

थाङ्का चित्रलाई पौभा चित्र पनि भनिन्छ । थाङ्का एउटा बौद्ध परम्परा हो जसले चित्रकलाको मार्फतबाट ईश्वरीय कुराहरू अभिव्यक्त गर्दछ । तिब्बती शब्द ‘थाङ् का’ को शाब्दिक अर्थ ‘अभिलेखीकरण गरिएको सन्देश’ हो । थाङ्का सुती वा रेशमको बुट्टेदार कपडामा बनाइएको चित्र हो जसमा प्रायः जसो बौद्ध धर्मका कुनै देवता, दृश्य वा मण्डला कोरिएको हुन्छ । परम्परागत रूपमा यसलाई विना फ्रेम र कपडाको आडमा राखिन्छ ।

प्रायः थाङ्काहरू तुलनात्मक रूपमा साना हुन्छन्, तर केही भने अत्यन्तै विशाल हुन्छन् । केही थाङ्काहरूमा उल्लेख्य मात्रामा सुन वा चाँदीको अंश हुन्छ जुन थाङ्काका केही भागहरूलाई जोड दिन वा यसलाई अन्तिममा शान्दार स्वरूप दिनको लागि प्रयोग गरिन्छ । यद्यपि, थाङ्का चित्र यस्तो माध्यम हो जसको मार्फत बौद्ध दर्शनलाई ब्याख्या गर्न सकिन्छ । सुरु सुरुमा लामा र भिक्षुहरूले बौद्ध धर्मको शिक्षा प्रदान गर्नका लागि चित्रहरूको प्रयोग गर्दर्थे । नेपाल भ्रमणमा आउने आगन्तुकहरू माझ थाङ्का चित्र अत्यन्त लोकप्रिय छ ।

‘चित्र कोर्दा बिग्रने वा गल्ति हुँदैन रु’ सुरुका दिनमा क्यानभासमा कुँची चलाउँदा कयौँचोटी गल्ति हुने सुनाउने सञ्चली भन्छिन्,‘बानी परेपछि त्यस्तो हुँदैन । मुख्य कुरा त दिमागलाई स्थिर र मनलाई आनन्दित ढंगले सञ्चालन गर्नुपर्छ ।’ सुरुका दिनमा क्यानभासमा चित्र कोर्न सिक्दा त्यसका पनि विभिन्न चरणहरु पार गर्नुपर्ने सुनाउँछन्, उनी ।

फर्पिङमा चित्र कोरिरहेकी उनको चित्र ठमेलका विभिन्न पसलहरु बिक्रि हुन्छन् । चित्र लिन कोही त्यहिँ पुग्छन्, भने विभिन्न सम्पर्कबाट सञ्चली दम्पत्तिको चित्रले बजार पाइरहेको छ । दत्तचित्त भएर चित्र बनाउन मात्रै लागि परेको खण्डमा महिनामा कम्तिमा पनि चार वटा चित्र बनाउने सक्ने बताउँछिन्, सञ्चली । न्यूनतम १५ हजारदेखि माथि चित्र बिक्रि गर्दै आएकी सञ्चलीको उमेर घर्किदै तर, उनको सीप अझ तिखारिँदै छ ।
                                                                                   प्रस्तुती : लोक राज रुम्दाली