रवि लामिछानेको नाममा डलर कमाउनेदेखि रमाउनेसम्म

Slider राजनीति
  • नवीन कुलुङ


कोही गुमाएको शोकमा छन्

कोही न्यायको भोगमा छन् ।
कस्लाई के को धन्दा, कस्लाई के को  ?
घर ज्वाईलाई खानुकै धन्दा भन्थे
कोही रिसइबी फेर्ने झोकमा छन् ।
कोही डलर कमाउने लोभमा छन् ।

हो अहिले यहाँ यस्तै परिस्थिति उत्पन्न भएकाे छ । स्व.पत्रकार शालिकराम पुडासैनीको परिवार शोकमा छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेको समर्थकहरू न्यायको भोगमा छन् । कोही कोही चाहिँ रिस फेर्ने झोकमा छन् भने कोही चाहिँ डलर कमाउने लोभमा पनि छन् ।

यहाँ दुई थरीलाई पीडा हुँदा दुई थरी चाहिँ खुसी नै देखिन्छन् । पत्रकार पुडासैनीको परिवारलाई अपराधी छुट्ला, अपराधीलाई कारबाही नहाेला कि भन्ने चिन्ता छ भने रविका समर्थकलाई आफ्नो भगवान् जस्तो मान्छे फस्लान् /फसाउलान् भन्ने र कसैले न्याय पाउँदा कुनै निर्दोषले सजाय पाउने हो कि भन्ने चिन्ता छ । तर रिस फेर्ने र कमाउनेहरू खुसी नै देखिन्छन् ।

शालिकरामलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा रवि लामिछाने र युवराज कँडेल पक्राउ परेपछि यो स्थिति भएको हो । यतिबेला सामाजिक सञ्जाल रविको पक्ष र विपक्षमा रङ्गिएका छन् । अहिले तत्कालै हेर्दा युट्युबमा मात्रै रविको नाम जोडिएको  ३३ वटा भिडियो ट्रेडिङमा रहेछन् । सायद नेपालमा अहिलेसम्म एकैजना मान्छेकाे नाम जोडिएर युट्युब यतिधेरै भिडियाे ट्रेडिङमा आएको थिएन हाेला ।

अहिले रविकाे नाम जाेडेर कतिले गीत निकालेका छन्, कित कविता, कतिले गजल लेखेका छन् भने कतिले रवि जेलबाट निस्किँदा नेता भएर निस्किने र प्रधानमन्त्री हुनेसम्म भविष्यवाणी गर्न थालेका छन् ।

कोही चाहिँ चर्चामा आउनका लागि मुखमा जे आयो त्यही बोलिरहेका छन् । यतिसम्म भनेका छन् कि ‘दोस्रो विश्व युद्ध केटीको कारणले भयो, अब तेस्रो युद्ध पनि केटीकै कारणले हुनेछ, किन कि रवि लामिछानेको पछाडि  धेरै केटीहरू छन् ।’

सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलाई रहेकाे पनि पाइन्छ ।  सामाजिक सञ्जालहरुमा आत्महत्या गर्नुअघि खिचेको भिडियोलाई आधार मानी विभिन्न तस्विर र फेसबुके अनुसन्धानकर्ताहरु विभिन्न अनुसन्धान पनि गरिरहेका छन् । फेसबुकमा मात्रै हाेइन अनलाइन र युट्युबमा पनि वकिल, न्यायधीश र सीआइबी आफैँ बनेर समाचार र भिडियो हालिरहेका छन् । सबैलाई यही मौँका छोपी चर्चामा आउनु छ । आफू चर्चामा आउन धेरैले केही न केही हर्कत गरिरहेका छन् ।

हेरौं केही युट्युबहरूको हेडलाईन –

  • प्रचण्डले रिस फेर्न रविलाई फसाएको खुलासा
  • रवि लामिछाने जेलभित्र यस्तो अवस्थामा
  • प्रहरीले फेला पार्‍यो यस्तो सनसनीपूर्ण प्रमाण, अब के हुन्छ ?
  • २ करोडसँगै रवि सिध्याउने खतरनाक खेलको भयो पर्दाफास, सर्वोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा
  • शालिकराम पुडासैनीको साथी मिडियामा, रविलाई सिध्याउनका लागि १३ करोडको खेल, शालिकलाई मारेको नै हो
  • शालिकरामको हत्या कि आत्महत्या ? यसरी भयो पर्दाफास, अब अदालतले के गर्ला ?
  • बल्ला आयो शलिकले बनाएको ओर्जीनल भिडियो
  • पुडासैनीको लिक भएको भिडियोमा उनलाई जबर्जस्ती बोल्न लगाइयाे
  • हिरासतबाट घटनाबारे रविले मुख खोले
  • रविलाई फसाउन खोजेको भिडियो बल्ला बाहिर आयो
  • पुडासैनी प्रकरण यसरी भयो
  • रविलाई यसकारण फसाइयो 
  • शालिकरामको भिडियोभित्रको रहस्य, हुने भो सबै खुलासा 
  • झन्डै ढलिन् रविकी आमा, भित्र छिर्न दिइएन, सोच्न नसकिने यस्तो सम्म भयो ।
  • अन्तमा होटेल कंगारु आगो लगाउने निर्णय
  • रविको लागि सडकमा आगो बाल्नु परेनी बालौला, मर्नु र मार्नु परेपनि पछि हट्दैनौँ
  • रवि पक्राउ परेपछि यसरी गर्जिए पत्रकार ऋषि धमला
  • रविलाई फसाउने प्रचण्ड, रेणु र चितवन एसपी प्रचण्डको भूपु बडीगार्ड
  • रवि लामिछानेबारे माताको भविष्यवाणी यस्तो, दाबीका साथ फेरि गरिन् भविष्यवाणी

यी हेडलाइनहरु प्राय: सबै युट्युब ट्रेन्डिङ्मा आएको भिडियोको हेडलाइन हो । अनलाइन मिडियाहरूको त कुरै नगरौं । हेडलाइन हेर्दा पारो तात्तिएर आउछ । माथिको हेडलाइनमध्ये एक हेडलाइनचाहिँ अर्का चर्चित पत्रकार ऋषिध धमलाको टेलिभिजन प्राइम टिभीको हो । धमलाकाे टिभीले पनि यस्तो सनसनीपूर्ण हेडलाईन हालेको छ । प्राइम टिभीले ‘शालिकरामको हत्या कि आत्महत्या ? यसरी भयो पर्दाफास, अब अदालतले के गर्ला ? भनेर हेडलाइन  हालेकाे छ ।

धमलाकाे चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पूर्वएसएपी बसन्त कुवाँर, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र ज्योतिष डाक्टर रुद्रनाथ अधिकारीबीचकाे बहस छ । याे बहस राम्रो छ तर हेडलाइन अनुसारकाे चाहिँ छैन । बहसमा हेडलाइनअनुसार  शालिकरामको हत्या कि आत्महत्या भन्ने पर्दाफास भएकाे छैन । बहसमा सबैकाे तर्क राम्रो भए पनि शालिकरामको हत्या कि आत्महत्या भन्नेकाे पर्दाफास चाहिँ कतै भएकाे देखिँदैन ।

डलर कमाउने धन्दा

युट्युबरहरु यतिबेला आफ्नो फाइदाका लागि अन्तर्वार्ता लिने र डलर कमाउने धन्दामा लागेका छन् भन्दा पनि फरक नपर्ला । हुन त यो ट्रेन्ड पहिलेदेखि नै थियो । यतिबेला मात्रै यस्तो देखिएको भने होइन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको बेला पनि यस्तै भएको थियो ।

युट्युबरहरुले चितवनमा गएर खिचेका भिडियोहरू र यही विषयमा आधारित विभिन्न व्यक्तिका अन्तर्वार्ताहरु अहिले हिट छन् । युट्युबका भिडियोहरूको शीर्षक मात्रै, हेर्दा लाग्छ – उनीहरू नै अनुसन्धान अधिकृत हुन्, उनीहरुनै अदालत हुन् । किनभने उनीहरूले एकपछि अर्को पर्दाफास गर्दै छन् भने को द्वोषि को निर्दोष भन्ने करार समेत गर्दै छन् ।

रवि पक्राउपछि उनको अवस्थाबारे थाहा पाउने अधिकार सबैलाई छ । उनको पक्ष विपक्षमा बोल्ने अधिकार पनि छ । रवि चर्चित सञ्चारकर्मी भएकाले पनि उनको भिडियोमा धेरैको जिज्ञासा हुनु स्वभाविकै हो । धेरैले रविबारे खोजिखोजी भिडियो हेर्ने र समाचार पढ्छन् । यहीँ मैका छाेपि कतिपय अनलाइन र युट्युवरले भ्युअरको लागि सनसनीपूर्ण हेडलाइन बनाएर भ्रामक प्रचार गरिरहेको पनि पाइन्छ ।

कतिपय युट्युबरहरुलाई त लाग्छ अझै रवि एक महिनासम्म नछुटोस्, नेपालमा यस्ता काण्डहरू बेलाबेला भइराखोस् । सायद युट्युबरहरुको कुरा बुझेरै होला निर्मला काण्ड, शिल्पा-छवि काण्ड, रवि काण्ड, पथरी प्रकरण, भक्तपुर काण्ड एउटा काण्ड नसकिँदै अर्को काण्ड भएको । यस्तै काण्ड भइरहर्याे  भने अनलाइन र युट्युवरलाई चाहिँ साँच्चै निकै फाइदा हुने देखिन्छ ।

युट्युब चलाइरहेका धेरैलाई अहिले शालिकरामको ‘आत्महत्या’ एउटा ’महोत्सव’भएको छ भन्दा पनि फरक नपर्ला । यूट्युबका भिडियोहरुलाई नै सर्वसाधरणल पत्याई दिन्छन । कुनै मान्छेको पीडामा यहाँ ‘व्यापार’ गरिरहेका छन् । सामाजिक सज्जलमा सद्भाव विथोलेर घृणा, वितृष्णा र आवेग, आक्रोश पैदा गराई रहेका छन् । सामाजिक सञ्जालमा गलत सूचनाहरुका कारण अनुसन्धान नै प्रभावित पार्नेसम्म देखिन्छ ।

गत सोमबार अगाडि नै कति युट्युबहरुले आज रवि लामिछाने छुट्ने भनेर समेत भिडियो बनाएका थिए । यी युट्युबरहरुको मनका कुरा थिए, वास्तविकता थिएन। यस्तो भइदियोस् भन्ने चाहना मात्रै थियो। ठूलो संख्यामा फेसबुक चलाउने नेपालीहरु भ्रममा विश्वास गरिरहेका छन्।

रमाउनेहरु 

रवि पक्राउ परेपछि भ्रष्टाचारी, घुसखोरी, दलालहरु चाहि पक्कै रमाएकै छन् । कतिलाई रवि सर्वसाधारणको नजरमा प्रहरी, अख्तियार, न्यायलय बनेको मन परेको थिएन । रविकै कारण कतकाे जागिर गएकाे थियाे, उनले कतिलाई नङ्गेझार पारेर टिभीमा देखाएका थिए, उनीहरू चाहिँ पक्कै पनि रमाएकै छन् । रविले नेताहरूलाई गालीसमेत गरेको थिए, रविका गाली पाएका नेताहरू र उनका पुछारेहरु पनि रमाएकै छन् ।

देशको राज्य संरचनामा बसेर निष्पक्ष रूपमा सबैलाई समान व्यवहार गर्ने, इमानदारीपूर्वक देश बनाउने भिजन नभएपछि न्याय दिलाउँने, भ्रष्टाचार र अपराधविरुद्ध बोल्ने रवि पाएपछि सर्वसाधरणले उनीप्रति विश्वस गरेका थिए ।   यो मुलुकको राज्यसंयन्त्र र प्रहरी प्रशासनभन्दा टेलिभिजन पत्रकारप्रति ठूलो भरोसा थियो ।

 समाजिक सञ्जालमा अनुसान्धान र अपराधी करार

सम्बन्धित निकायले छानबिन गर्नुभन्दा छिटो अनुसान्धान गरेजसरी फेसबुक र ट्विटरमा तीव्र प्रतिक्रयाहरु आउँछन् । कतिले आरोपीलाई नै अपराधी करार गरेका छन् । यसको अर्को उदाहरण निर्मला हत्या प्रकरण पनि हो । निर्मला पन्तलाई कसले, कसरी, कुन आसनमा बलात्कार गरे भन्ने समेत फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा पाउन सक्छौँ । तर, तिनको आधार के ? सत्य के ? कसले निर्मलाको बलात्कार रहत्या गरेको हो ? अझैसम्म भरपर्दो निष्कर्ष कतैबाट आएको छैन ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटरहरु खराब लत बन्दै गएका छन् । मानसिक तनाव दिने, व्यक्तिगत सम्बन्ध बिगार्ने तथा सामाजिक रूपमा अपाच्य विषयसमेत सामाजिक सञ्जालमा सम्प्रेषण हुने गरेको छ । सामाजिक सञ्जालमा फरक मत राखेकै आधारमा चरित्र हत्या गर्ने प्रवृत्ति मौलाएको छ । विना तथ्य वा आधारमा कसैको चरित्र हत्या गर्नेहरू सक्रिय छन् । स्मार्ट फोन र इन्टरनेटले नैतिकता र संवेदना चाहिँ दिनदिनै पतित हुँदै गएको छ ।

सामाजिक सञ्जालको सहि सदुपयोग गर्न जरूरी रहेको छ । सामाजिक संजाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दयित्व हुन्छ जुन उसले संजालको मर्यादा र अनुशासन पालना गर्दै पूरा गर्नुपर्छ। सावधानीको साटो ‘जे पर्छ, त्यो टर्छ’ को मनोवृत्तिमा परिवर्तन गर्न/ हुन जरूरी रहेको छ ।