ढिलो तर कडा आयो : अब, प्रदेश २ को नाम र राजधानी कुन राख्ने ?

2 प्रदेश देश राजनीति समाचार

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशको नाम र स्थायी राजधानी कहाँ राख्ने ? प्रदेशको नाम र स्थायी राजधानीका लागि दलहरुले फरक फरक प्रस्ताव राखेका छन् । प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्न प्रदेशसभा सचिवालयले बिहीबारको डेडलाईन तोकेको थियो । यो अवधिमा राजनीतिक दल तथा सांसदहरुले आफ्ना छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । साथै, प्रदेशसभामा ‘मधेस’सहित प्रदेशको चार नाम प्रस्ताव गरिएको छ ।

सत्तारुढ संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता दल (राजपा) ले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ प्रस्ताव दर्ता गराएको छ भने विपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ । साथै, कांग्रेसका केही सांसदले भने ‘मध्य मधेस’ प्रदेशको नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले दर्ता गरेको सो प्रस्तावको समर्थकमा ओमप्रकाश शर्मा, शंकरप्रसाद चौधरी र अशियादेवी थरुनी रहेका छन् ।

प्रदेशको नाममा चार नाम प्रस्ताव हुँदा स्थायी राजधानीका लागि पनि चार ठाउँको प्रस्ताव अघि सारिएको छ । यसअघि प्रदेश २ को स्थायी राजधानी जनकपुर बनाउने बिषयमा दलहरुबीचमा एकमत देखिए पनि बिहीबार त्यस्तो देखिएन । स्थायी राजधानीका लागि बिहीबार जनकपुरसहित चार ठाउँको प्रस्ताव दर्ता गरिएको छ ।

सत्तारुढ दल नेकपाले प्रदेशको राजधानी धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्व पश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको छ ।

प्रतिपक्षी दल कांग्रेसले भने स्थायी राजधानी जनकपुर उप–महानगरपालिकाभित्रै राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ । उता, वीरगञ्जबाट प्रतिनिधत्व गर्ने सांसदहरुले भने पार्टीको निर्णय विपरित छुट्टै प्रस्ताव दर्ता गर्दै वीरगञ्ज महानगरपालिकालाई स्थायी राजधानी बनाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।