‘कम्युनिस्ट नेताहरु राजा/महाराजा हुँदै गएपछि जनताले लखेटेका हुन्’

देश राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा उपचाररत छन् । पार्टीको अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन् । प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान भएको भोलिपल्ट (आज शुक्रबार) अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुमा अनुशासनको शून्यता रहेको टिप्पणी गरेका छन् । उनले जस्लाई जे जे मन लाग्यो, त्यही बोल्न थालिएको टिप्पणी गरेका हुन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको भन्दै उनले ‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । तर, आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोल्ने गरेका छौँ, पूरौँ बेवास्ता गरेर ।’

अध्यक्ष प्रचण्डले पार्टीमा अनुशासनको कमी भई जे मन लाग्यो त्यहिँ बोल्नु राजा महाराजाको लक्षण देखिएको प्रष्ट्याएका छन् । उनले प्रधानमन्त्री ओली र नेता नेपालबीचको भनाभनालई लिएर यस्तो टिप्पणी गरेका हुन् । यहिँ विषयलाई लिएर उनले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको अभिव्यक्ति दिएका हुन् ।

पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट अनुशासनको विषय उप्काएका प्रचण्डले सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण पनि कोट्याए । उनले पूर्वी युरोपको प्रसंग कोट्याउँदै राजा महाराजाविरुद्ध लडेका नेतालाई जनताले नै लखेट्ने अवस्था सिर्जना हुन सक्ने भन्दै सजग हुन पनि सल्लाह दिएका छन् ।

युरोपको प्रसंग कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न सक्दै नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने क्षमता राख्ने सुनाए । उनले यसअघि भने, ‘कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् । पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । हामी कहाँ पनि यसो हेर्दा लक्षण चाहिँ कताकता त्यस्तै देखिएको छ ।’ यसकारण यस्तो खाले विकृति भित्र्याउन नहुने उनले सुझाव दिएका छन् ।