दुई दिन चम्किएको जुम्ला फेरी अन्धाकारमय !

देश सूचना प्रविधि

काठमाडौं । ‘जुम्लालाई अन्धाकारमा राखेर भारतलाई बिजुली बेच्ने ?’ भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनमाथि केही समयअघि संसद भवनमा जुम्लाका सासंद गजेन्द्रबहादुर महत कड्किएनन् मात्र उनले घिसिङ र पुनलाई फोन समेत नउठाएको भन्दै श्री ३ महाराजको पगरी नै भिराइदिए । यसरी उनले सांसद आक्रोश पोखेपछि प्राधिकरणले जुम्लामा विद्युत उपलब्ध गराउन तयार रहेको सूचना नै सार्वजनिक गर्यो ।

त्यसपछि प्राधिकरणले जुम्लामा अन्धाकार हटाउनका लागि कालीगण्डकी जलविद्युत आयोजनाको डिजल जेनेरेटर उपलब्ध गरायो । दैनिक ५० लिटर चाहिने सो जेनेरेटर केही समयसम्म सञ्चालनमा आयो र पुन बन्द अवस्थामा छ । अहिले डिजल नभएकाले सञ्चालनमा आउन नसकेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढाथापाले जानकारी दिए ।

उनका अनुसार गत कात्तिकदेखि विद्युत संकट हुँदै आएको छ । उनका अनुसार संसदमा सांसदको आक्रोशपछि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट अहिले डिजेल अभावका कारण त्यसै थन्किएको छ । यद्यपि, विद्युत् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि उपकरण थन्किएको उनी बताउँछन् ।

२९ साउनमा जुम्लामा पुगेको डिजेल प्लान्ट अहिले पुन बन्द अवस्थामा रहेकाले जुम्ला सदरमुकाम खलंगा महिनौदेखि विद्युतबिहीन भएको छ । तर, अहिले सांसद महतले स्थानीय पूर्वाधार कोषबाट २४ लाख ६० हजार रूपैयाँको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरेर बिजुली बालिदै गरिएको अध्यक्ष बुढाथापाले बताए । उनका अनुसार ज्याक्सन कम्पनीको २०० केभी (१६) किलोवाटको मेसिनबाट बिजुली बालिएको छ । डिजेलबाट बिजुली बाल्दा बढी खर्च हुने भएकाले एक दिनमा ९ घण्टा मात्र विद्युत आपूर्ति गर्न सकिएको उनी बताउँछन् ।